बुद्ध भगवान ६ वर्षदेखि प्रहरी हिरासतमै



कमल न्यौपाने ।

काठमाडौ । कर्णाली प्रदेशको पर्यटकिय क्षेत्र काँक्रेविहारमा राख्नकालागि ल्याइएको भगवान बुद्धको मुर्ति विगत ६ बर्षदेखि प्रहरी हिरासतमा छ । ६ बर्षअघिको बुद्ध जयन्तीमा मूर्ति काँक्रेविहार क्षेत्रमा राख्न लागेको उक्त मुर्ति प्रहरीले नियन्त्रणमा लिएर अहिलेसम्म पनि आफ्नै परिसरमा हिरासतमै झै राखेको छ । उक्त मुर्ति २०७० बैशाखमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यतिबेला प्रहरी प्रशासनले बुद्धको प्रतिमा स्थापन गर्न नपाइने उर्दी जारी गर्दै उक्त मुर्ति नियन्त्रणमा लिएको काँक्रेविहार क्षेत्रका स्थानीय बताउँछन् ।  सो अवसरमा आयोजित र्‍यालीमा सहभागि बुद्धमार्गी र प्रहरीबीच झडप समेत भएको थियो । मुर्ति राख्ने बिषयमा विवाद बढेपछि प्रहरीले मुर्ति कब्जामा लिएको र सो बिषय अदालतसमम पुगेको स्थानीयको भनाई छ । जिल्ला अदालत सुर्खेतले तत्कालिन अवस्थामा गरेको फैसला अनुसार बुद्धको मूर्ति जिल्ला प्रहरी परिसरमा राखिएको स्रोत बताउँछ ।

अदालतको फैसला पछि बुद्धको मूर्ति काँक्रेविहार वन क्षेत्रमा प्रतिस्थापित हुन सकेको छैन्। बुद्धमार्गीहरुले काँक्रेविहार संरक्षित क्षेत्रमा बुद्धको मूर्ति राख्न पाउनु पर्ने माग राख्दै आएका छन् भने हिन्दु धर्मावलम्वीहरुले मूर्ति राख्‍न नपाइने अडान कायमै राखेका छन्। जसले गर्दा हालसम्म मूर्ति जिल्ला प्रहरी कार्यालय सुर्खेतको परिसरको राखिएको छ। प्रहरीकै नियन्त्रणमा मुर्ति रहेको कारण बौद्धधर्मात्मलम्बीहरु प्रहरीकै निगरानीमा परिसरमै पुगेर पुजाआजा गर्दै आएका छन् ।

विगत ६ वर्षदेखि प्रहरी प्रशासनको नियन्त्रणमा मूर्ति राखेर सरकारले बुद्धको बुद्धत्वलाई चिन्न नसकेको उनीहरुले गुनासो गरेका छन्।काँक्रेविहार वनमा राख्ने योजनाअनुसार भारतको देहरादुनबाट ल्याइएको बौद्धधर्मका जानकार जीवनकुमार शाक्य बताउँछन् । केन्द्र सरकारले मूर्ति व्यवस्थापनमा बेवास्था गरेपनि प्रदेश सरकारले त्यसमा ध्यान दिन आग्रह गरेका छन।तर, प्रदेश सरकार पनि यस बिषयमा अहिलेसमम उदासीनै रहेको छ ।

नेपाल अहिंसावादी विश्वशान्ति बौद्धधर्म संघ चक्रका सचिव एवम् बौद्धधर्मगुरु प्रेमदोर्जे लामाले बुद्ध जन्मभएको देशका रुपमा विश्वमा परिचित भएपनि नेपाल सरकारले बुद्धलाई चिन्न नसकेको यसअघि नै बताएका थिए । उनले मूर्तिलाई काँक्रेविहार राख्न केन्द्र सरकारसँग गुहार्दा कुनै सुनुवाई नभएको भन्दै प्रदेश सरकारले मन्दिर व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिदै आएका छन् ।

बुद्धजयन्तीलाई विश्वशान्ति दिवसका रुपमा मनाएपनि साल लाख रुपैयाँ लागतमा सुर्खेत ल्याइएको मूर्तिलाई अपमानजनक व्यवहार सरकारबाट गरिएको बौद्धधर्मात्मलम्वीहरुको आरोप रहदै आएको छ । काँक्रेविहारमा मूर्ति राख्दा हिन्दु र बौद्धधर्मावलम्वीहरुबीच विदोह बढ्ने भएकाले पनि उक्त मूर्ति व्यवस्थापनमा चुनौती देखिएको स्थानीय प्रशासनले जनाएको छ। सामाजिक समस्याका कारण काँक्रेविहारमा बुद्धको मूर्ति राख्न नसकिएको सरकारी अधिकारीहरु बताउँछन् ।