बालकृष्ण ढुङ्गेलसहित एक हजार कैदीलाई आम माफी दिने सरकारको तयारी


कार्यविधि भन्छ– हत्या अपराधमा मिल्दैन
फोटोः गुगलबाट

८ जेठ, काठमाडौं । सरकारले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलसहित एक हजार जनालाई आममाफी दिने तयारी गरेको छ ।
जेठ १५ गते गणतन्त्र दिवसमा राष्ट्रपतिबाट उनीहरुलाई आममाफी दिने तयारी भएको हो ।

कारागार व्यवस्थापन विभागका एक उच्च अधिकारीका अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष ऐन–नियमअनुसार केही कैदी बन्दीलाई आम माफी दिँदै आएको छ ।

कारागार व्यवस्थापन विभागका ती उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने– यो वर्ष पनि हामीले बालकृष्ण ढुङ्गेलसहित एक हजार जनाको नाम गृहमन्त्रालयमा पठाउँदैछौं । सरकारले कतिलाई माफीका लागि सिफारिस गर्छ त्यो भन्न सकिँदैन ।”
यस्तोमा राजनीतिक बन्दी, जेष्ठ नागरिक, रोगी र अनुसासनको पालना गरेकासँगै ४० प्रतिशत भन्दा बढी कैद सजाय भोगिसकेका पर्छन् ।

सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधी २०७१ ले कसैले आफुलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ । तर भ्रष्टाचार, जबर्जस्ती करणी, सरकारी कीर्ते, संगठीत अपराध, युद्ध अपराध, क्रुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिमै उल्लेख छ ।

यस्तोमा माओवादी नेता ढुङ्गेलको विषयलाई कसरी समेटिएको छ भन्ने ती अधिकारीले खुलाएनन् । तत्कालीन माओवादी नेता ढुङ्गेल डिल्लीबजार कारागारमा जेल जिवन बिताइरहेका छन् ।
कारागार व्यवस्थापन विभागले देशभरबाट नियममा अटाउने सबै कैदीबन्दीको विवरण समेत मागेको छ ।

कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलन भएमा कैद मिनाह गर्न सक्ने व्यवस्था छ ।  जन्मकैदको सजाय पाएका कैदीको २० वर्षको ४० प्रतिशत सजाय ८ वर्ष हुन्छ ।

माओवादी नेता ढुङ्गेल यसअघि नै उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल परेका थिए । बीचमा थुनामुक्त भएर फेरि फरार रहेका उनी कात्तिक  १४ मा पक्राउ परेका थिए । यसअघिको समेत जोड्दा उनी वैशाखसम्ममा ८ वर्ष जेल बसेको देखिएको स्रोत बताउँछ । तर कार्यविधिमा हत्या अपराधमा माफी दिन नसक्ने व्यवस्था छ ।

यसअघि तत्कालीन एमालेले ढुङ्गेललाई कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो । माओवादी र एमालेबीच पार्टी एकता भएपछि ढुङ्गेल सरकारको सिफारिसमा रिहा हुन लागेका हुन् ।  ढुंगेलमाथी २०५५ असार १० गते ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोप लागेको थियो । जिल्ला अदालत ओखलढुंगाले २०६१ वैशाख २१ गते ढुंगेललाई जन्मकैदको फैसला गरेको थियो । त्यसपछि बालकृष्ण ढुंगेल जेल बसेका थिए । तर जिल्ला अदालतले गरेको फैसला पुनरावेदन अदालतले २०६३ सालमा उल्ट्याएपछि उनी जेलमुक्त भएका थिए ।

तर २०६६ पुस १९ मा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेका थियो ।

साभारः बाह्रखरी अनलाइनबाट