
१७ जेठ, रोल्पा ।
लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन् ।
अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल हिँडेर पानी ल्याउन विवश भएका छन् । घरमा भएको धारामा पानी आउन छाडेको एक महिनाभन्दा वढी भएकाले तीन घण्टा पैदल हिँडेर पानी ल्याउन बाध्य छौँ, रोल्पाको परिवर्तन गाउँपालिका, रांसीचौरका ललित क्षेत्रीले भने ।
गाउँपालिका कालावाङवासी बिहान उठ्ने बित्तिकै डोकामा गाग्रो बोकेर पानी लिन निस्कन्छन् । ‘एक गाग्रो पानी लिन जाँदा आउँदा तीनघण्टा लाग्छ,’ स्थानीय लोकेन्द्र केसीले भने । एकघर एक धारा अन्तरगत तीन महिना अघि जडान गरिएका धारामा पानी आउन छाडेको केसीले जानकारी दिए ।
मान्छेले खानको लागि त टाढैको मुहानबाट भएपनि जसोतसो काम चलिरहेको छ गाईभैँसीलाई खुवाउन र मान्छेलाई सरसफाइ गर्न निकै समस्या भएको केसीले बताए ।
जिल्ला सदरमुकाममा समेत पानीको हाहाकार देखिएको छ । धारामा पानी नआएपछि बजारवासीले पानी आपूर्तिका लागि खानेपानी उपभोक्ता समितिमा दबाब दिइरहेका छन् ।
धारामा पानी नआएपछि नुवाइधुवाइका लागि एकघण्टा टाढाको लहरी खोला जाने गरेको स्थानीय सोनी केसीले दुखेसो पोखिन् । गर्मीमा दैनिक सरसफाइ गर्न जरुरी रहेपनि पानीका कारण सरसफाइ गर्न नपाएको केसीको भनाइ छ ।
लामो समयको खडेरीले पानीका मुहान सुकेका कारण खानेपानी आपूर्तिमा समस्या देखिएको लिवाङ बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष लिलाधर आचार्यले बताउँछन् । अनलाइनखबरबाट
Milan Shrestha । १७ जेष्ठ २०७५, बिहीबार ०६:१७ बजे