गर्भवती महिलालाई धुवाँ रहित चुलो वितरण


स्वास्थ्यमा सुधार आउनेमा आशा
अविरल ढकाल
फागुन १३, जुम्ला ।

“स्वास्थ्य नै सवै भन्दा ठुलो धन हो” भन्ने मान्यताका साथ जुम्लाको तातोपानी गाँउपालिका ३ को लछिकृत आमा समुहका २५ जना सदस्य गर्भवती महिलाहरुलाई धुवाँ रहित चुलो वितरण गरिएको छ । जुम्लामा सञ्चालन भएको कृषि तथा खाद्य सुरक्षा साना अनुदान कार्यक्रमले गर्भवती महिला र कुपोषित बालबालिकाको स्वास्थ्यलाई मध्येनजर गरेर धुवाँ रहित चुलो, फिल्टर, तातो पानी पिउनको लागि किट्ली र ड्रम वितरण गरेको हो ।

दिदीवैहिनीलाई कसरी स्वस्थ रहन सकिन्छ भन्ने विषयमा प्रत्येक महिनामा छलफल गर्ने गरेको लछिकृत आमा समुहकी अध्यक्ष विमला रावतले बताउनुभयो । पहिले आमाहरु अशिक्षित भएकै कारणले आमा र बालबालिकाहरुमा पनि स्वास्थ्य सम्वन्धि असर देखा पथ्र्यो त कतिले अकालमै ज्यान गुमाउनु पथ्र्याे, आमा समुह गठन गरे देखि यसको बिकल्प सोच्ने गरेको उहाको भनाई छ । आज पाएको धुवाँ रहित आद्युनिक हिटर चुलोले आमाहरुको स्वास्थ्यमा सुधार ल्याउनेमा आशावादी हुनुहुन्छ अध्यक्ष रावत ।
“जिउ छ त जिउलो छ” यो उखानले आफ्नो जीउ स्वस्थ भएमा धन, शिक्षा र मनले चाहेको कुरा कमाउन सकिन्छ भने हो । देश विकास र संवृद्धि स्वस्थ नागरिक बाट सम्भव भएकोले पहिले स्वस्थ हुन जरुरी भएको जिल्ला संमन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको भनाई छ । सधैै रोग, भोक, गरिवी र अशिक्षाले जरा गाडेको होईन, अव कर्णालीबासी स्वस्थ भएर कर्णालीलाई परिवर्तन गरी केन्द्रलाई चुनौती दिनको लागि पनि स्वस्थ रहनु पर्नेमा प्रमूखले जोड दिनुभयो ।

आमा समुहको २० प्रतिशत रकम र वाँकी ८० प्रतिशत रकम कृषि, पशु र स्वास्थ्य कार्यालयको संयुक्त कार्यक्रम र साना अनुदानको गरी ३ लाख, साठी हजार रुपैयाको सामाग्री वितरण गरिएका हो । जिल्लामा ७७ वटा आमा समुहमा काम गर्दै आएको यस कार्यक्रमले सवै समुहलाई टेवा पुग्ने उद्देश्यले सवै समुहमा काम गर्दै आएको छ ।

गाँउमा किसकलाई राखेर किर्षक पाठशाला बनाएर कसरी व्यवसायिक रुपले पशु पालन र कृषि क्षेत्रमा आत्मर्निभर बन्न सकिन्छ भनेर किसानहरुलाई तालिम दिने गरेको पशु प्राबिधिक पदम केसीले बताउनु भयो ।

जिल्लाका अधिकांश महिलाहरुमा छाती तथा दम रोगको समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ । दम रोगका विरामी बढ्नुको कारण जुम्लाको इन्धनको मुख्य श्रोत दाउरा भएको र दाउरा बाल्दा धेरै मात्रमा धुवाँ निस्कने हँुदा स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने समेत जिल्ला कार्यालयले बताएको छ । पुरानो ओदाने चुलोमा खाना पकाउदा धुवाँले स्वास्थ्यमा थप असर पार्ने गरेको छ ।