नारायणगढ मुग्लिन सडकमा ढुंगा खस्दा चालकको मृत्यु


४ असार, चितवन

नारायणगढ मुग्लिन सडकमा आइतबार राति सडकमाथिबाट खसेको ढुंगा लागेर एकजना ट्रक चालकको ज्यान गएको छ ।

चितवन प्रहरीले दिएको अनुसार मृत्यु हुनेमा तनहुँकाे शुक्लगण्डकी नगरपालिका बस्ने अन्दाजी ३५–३६ वर्षका कृष्ण ढुंगाना रहेका छन्। उनले चलाएको ग १ ख ८२२८ नम्बरको ट्रकमाथि आइतबार राति साढे नौ बजे ढुंगा खसेको थियो। नारायणगढबाट मुग्लिनतर्फ जाँदैगरेकाेट्रकमा इच्छाकामना गाउँपालिका–६ मा रहेको दुई नम्बर पुलमा उक्तघटना भएको थियो।ढुंगाले चालक सिटतर्फ नै क्षति पुगेकाे छ। उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा राति ११ बजे चालक ढुंगानाको ज्यान गएको चितवन प्रहरीले जनाएको छ।
नारायणगढ–मुग्लिन सडकलाई एशियाली मापदण्ड अनुरूपको दुई लेन फराकिलो सडक बनाउन ठाउँ ठाउँमा पहाड काट्ने काम भएको छ। पहाड काटेको ठाउँबाट पहिरो र ढुंगा झर्ने समस्या छ। पहिरो र ढुंगाले लागेर सो सडक खण्डमा विस्तारको काम सुरू भएयता पछिल्लो तीन वर्षमा ६ जनाको ज्यान गएको छ।अाइतबारसाँझ पहिरो खसेर अवरूद्ध सडक अहिले सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
आइतबार राति भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिका–६ गीतानगर देवनगरमा राति पौने १० बजे ना २१ प ७१८४ नम्बरको मोटरसाइकल आफै पल्टेको थियो।
उक्त दुर्घटनामा मोटरसाइकल चालक भरतपुर–१५ फुलबारीका करिब ३०–३१ वर्षीय युवक विकास विकको निधन भएको चितवन प्रहरीले जानकारी दिएको छ। विकको उपचारको क्रममा भरतपुरको सरकारी अस्पतालमा निधन भएको प्रहरीको भनाइ छ। कान्तिपुरअनलाइनबाट