परमाणु परीक्षणस्थल बन्द गर्ने उत्तर कोरियाको घोषणा


१६ बैशाख । उत्तर कोरियाले आफ्नो पारमाणविक परीक्षण केन्द्र आउँदो मे महिनामा बन्द गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ।

एकजना प्रवक्ताले सार्वजनिक कार्यक्रमका माझ परीक्षण केन्द्र बन्द गरिने र हेर्नका लागि दक्षिण कोरियाली तथा अमेरिकी विज्ञहरूलाई निम्त्याइने बताए।

यसअघि शुक्रवार उत्तर कोरियाली नेता किम जङ-अन र दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए।

केही महिनाअघिको वाक्‌युद्धको स्थितिपछि दुई कोरियाबीच भएको शिखर बैठकमा त्यस्तो सहमति गरिएको थियो।

भेटवार्ता

समाचार संस्था एएफपीका अनुसार राष्ट्रपति मूनका प्रवक्ताले पत्रकारहरूलाई भने, “शिखर बैठकमा किमले मेमा पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने बताएका हुन्।”

पछिल्लो समाचार प्रकाशमा आएको केही घण्टाअघि मिशिगनमा आयोजित एउटा र्‍यालीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘तीन अथवा चार हप्ताभित्र’ कोरियाली प्रायद्वीपको निश्शस्त्रीकरणबारे उत्तर कोरियाली नेतृत्वसँग आफूले वार्ता गर्ने बताएका थिए।

दुई कोरियाली नेताहरूबीचको शिखर वार्तापछि ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मूनसँग कुराकानी गरेका छन्। उनले किमसँगको आफ्नो भेटवार्ताको समय र स्थानबारे तय भइरहेको बताए।

दबाब

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प र किमबीच सिंगापुर वा मंगोलियामा भेटवार्ता हुने सम्भावना छ।

यद्यपि त्यसको पुष्टि भइनसकेको उनीहरूले जनाएका छन्। यसअघि शनिवार ट्रम्पले किमसँगको आफ्नो भेटवार्तामा सम्भव भए एउटा सहमति गर्नुपर्ने आफ्नो जिम्मेवारी भएको बताएका थिए।

उनले दुई कोरियाबीचको शुक्रवारको शिखर बैठक सफल भए पनि आफूले उत्तर कोरियामाथि अधिकतम दबाब जारी राख्ने उल्लेख गरे।

विविसीबाट