पर्सिदेखि जुम्लामा आमरण अनसन बस्ने डा. केसीको घोषणा


फाइल फोटो

१३ असार, काठमाडौं । प्रा. डा. गोविन्द केसीले पर्सिदेखि आमरण अनसन बस्ने घोषणा गरेका छन् । अनसन स्थलका रुपमा जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोजेका छन् ।

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसीले पर्सि १५ गतेबाट अनसन बस्ने घोषणा गरेका हुन् । डा. केसीले निःशुल्क पीजीपछि सेवा अवधि आफूहरुसँग सहमति भएअनुसार २ वर्ष कायम गर्ने बाहेक अध्यादेशमा परिर्वतन नगरी प्रतिस्थापन विधेयक ल्याउन सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

उनले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यसो नगरिएको खण्डमा असार १५ गतेदेखि सत्याग्रह लगायत संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गर्दछौं ।’

आफूसँग भएको सम्झौताअनुसार उपत्यका बाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय भएपनि कार्यान्वयन झारो टार्ने खालका भएको उनले बताएका छन् ।

डा. केसीले भने, ‘किनभने प्रमुख राजनीतिक दलहरुको नियत नै देशमा स्वास्थ्य सेवा बिस्तार गर्नेभन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरा गर्ने छ ।’

त्यही कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन नसकेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको उनको बुझाइ छ ।

डा. केसीले भनेका छन्, त्यसैले यो संवेदनशील विषयमा समेत सबै पक्षहरुको ध्यानाकर्षण गर्नका लागि १५ औं सत्याग्रहको स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाम हुने पनि जानकारी गराउँछौं ।’

अनलाइनखबरबाट