दिन् फिर्लान त पलाताका ?


राज्यका सामुन्ने कर्णाली जस्तै कालिकोटका सामुन्ने पलाता क्षेत्र विकट र पिछडिएको क्षेत्र हो । जसरी कर्णालीवासीहरु सिंहदरवार सँग अधिकार प्राप्तिको संघर्ष गर्दै आएका छन् यस्तै प्रकृतिको संघर्ष पलातावासीहरु कालिकोट सदरमुकाम मान्मसँग गर्दै आएका थिए । मुलुकमा तीन तहका शाषन व्यवस्था सञ्चालनमा आएसँगै पलाता मान्ममा संघर्षका स्वरुपहरु देखाइरहेको छैन । पलाता आफ्नै हिस्सामा राज्यबाट बिनियोजित बजेटको प्रभावकारी कार्यान्वयन र थप बजेटको लागि प्रदेश तथा केन्द्र सरकारसँग सम्मानजनक समन्वयमा केन्द्रित देखिन्छ । भुगोल, जनसंख्या र गाउँपालिकाको विकटता एवं गरिबीलाई मापन गर्दा पलाताले धेरै बजेटको अपेक्षा गर्दछ । यद्यपी राज्यको तर्फबाट बिनियोजित थोरै बजेट पनि पलाता सही रुपमा सदुपयोग मार्फत आफ्नो ठाउँको विकासमा तल्लीन देखिन्छ । जिल्लाका अन्य स्थानीय तह भन्दा पलाता गाउँपालिका पृथक रुपमा विकास र नीति योजनामा तल्लीन छ । ३१८.८४ वर्गकिलोमिटर क्षेत्रफल र करिब १५ हजार जनसंख्या रहेको पलातालाई समृद्ध गाउँपालिका बनाउन फलामे चिउरा चपाउन सरह नै छ ।

आर्थिक रुपमा अति बिपन्न, राजनीतिक रुपमा जिल्लामा कहिल्यै राजनीतिक नेतृत्व नपाएको, सामाजिक रुपमा पछौटेपन, भौगोलिक                     चित्रसिंह गाँउले                रुपमा अति बिकट पलातालाई जनप्रतिनिधिको तर्फबाट नयाँपनका साथ समृद्धिका कार्यक्रम अघि सारिएका छन् । म आफै पलाता पुग्दा त्यहाँको विकास र समृद्धिमा जनप्रतिनिधि सफल हुनेछन् भन्ने विषयको मुख्य आधार भनेको जनप्रतिनिधिमा रहेको विकासप्रतिको व्यग्र चाहना र अटुट इच्छा शक्ति नै देखें । यसैगरी इच्छाशक्ति अनुसार दृढताको साथ विकासका लागि तल्लिन भएको देखिनुले पक्कै पनि पलाता काया फेर्छ भन्ने महसुस गर्न सकिने ठाउँ प्रसस्त छ । सार्वजनिक कार्यक्रमदेखि व्यक्तिगत जीवनका हरेक मामिलामा प्रभाव पार्ने मदिरा नियन्त्रणको कार्यक्रमले गर्दा हिजो र आजको पलातामा निकै भिन्नता पाउन सकिन्छ । कम्तिमा पनि हप्तै पिच्छे सदरमुकाममा आइरहने पलाताका कलहका मुद्दाहरु अब महिनामा समेत बिरलै देखिन थाल्नु जनप्रतिनिधिको तर्फबाट पलातालाई रुपान्तरणका लागि चालिएको र सफल भएको महत्वपूर्ण कदम हो । जाडँ रक्सी सेवन गरेर होहल्ला गर्नेहरुले सिंगो गाउँपालिकाको भूगोल भन्दा धेरै टाढा गएर मात्रै हल्ला गर्न सकिने सम्भावना पलातामा देखिन्छ ।

शैक्षिक क्षेत्रमा सुधारका लागि त्यहाँ झन राम्रो कदम चालिएको थियो । परीक्षा केन्द्रमा गाउँपालिका अध्यक्ष आफै रनिङ् गार्डको भुमिकामा रहेर सारा जनप्रतिनिधि तथा शिक्षकहरुलाई मर्यादित परीक्षा र गुणस्तरीय पठन पाठनमा अग्रसर रहन शन्देश दिइरहेको देखिन्थ्यो । सुख्खा क्षेत्रको रुपमा देशमै चिनिने पलातालाइ हरियाली पलाता बनाउने सार्थक अभियान थालनी भएको छ । घरघरमा धारा र बत्ती व्यवस्था गराउने तथा बस्ती बस्तीमा सडक पुगाउने अभियानले तिब्रता पाएको देखिन्छ । युवाहरु उत्साहका साथ विकास निर्माण र सामाजिक रुपान्तरणको अभियानमा सरिक छन । युवाहरुको कार्यदल नै खडा गरेर विकासका काममा लगाइएको छ भने उनीहरुका लागि आधारभुत आर्थिक सहायता गाउँपालिकाले ब्यहोर्दै आएको छ । जनप्रतिनिधिहरु पालिकाको कामकाज बाहेक अन्य निकायको तर्फबाट सदरमुकाम लगाएत अन्यत्र आयोजना गरिने कार्यक्रममा समय दिएर लटपटीने कुराबाट सजग रहँदै आएका छन् । अत्यन्तै कठिन भूगोल रहेको पलाताले नेतृत्व सक्षम पाएको महसुस जनस्तरमा भएको छ ।

गाउँपालिका तथा वडापालिकाले सार्वजनिक सुनुवाइका साथै जनता सँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरेर पालिका स्तरमा भएका विकास गतिविधि तथा नीति तथा कार्यक्रम बारे जानकारी गराउँदै आएको पाइन्छ । साँच्चिकै अभाव र पछौटेपनको थलो भनेर चिनिने पलाता समृद्धिको दिशामा अगाडि बढ्न सक्नु पर्छ । अहिले पनि कतिपय जनप्रतिनिधिहरु अधिनायकवादी शैलीमा सञ्चालन भैरहेको भन्दै टिकाटिप्पनीमा लागेको स्थिति अवश्य छ । पुर्ण रुपमा हरेक विषयमा सफल कोही पनि हुन असम्भव नै छ । यसरी चलेका टीका टिप्पणीलाई मिथ्या सावित गर्न पनि जनप्रतिनिधि सफल हुन सक्नु पर्दछ । गाउँपालिकाको केन्द्र तोक्ने विषय कठिन थियो र छ नै होला । राजनीतिक पुर्वाग्रह पुर्ण रुपमा अन्त्य गरिने कार्य जनप्रतिनिधिबाटै हुन जरुरी छ । पलाताले गुथ्दै आएको विकटताको पगरी र गरीबीको पीडा अन्त्य गरेर पलाताका चाँडै दिन फिरेको देख्न पाइयोस् शुभेच्छा प्रकट गर्दछु ।