विपन्न परिवारलाई कुखुराका चल्ला वितरण


२१ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरि वडामा रहेका अति विपन्न परिवारलाई कुखुराको चल्ला वितरण गरेको छ ।

घरेलु हिंसा पिडित महिला तथा विपन्न वर्गका परिवारलाई आत्मनिर्भर तथा स्वरोजगारकालागि कुखुराका चल्ला वितरण गरिएको हो । 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रशासकिय अधिकृत दिपेन्द्र सुबेदीले नगरपालिकाले छोरी जन्मने वित्तिकै नगरपालिकाले छोरीका नाममा बैंकमा खाता खोलिदिने कार्यक्रम अन्तरगत हाल सम्म ५३ जना छोरीहरुको खाता खोली सकिएको र गर्भवती महिलाकालागि निशुल्क एम्बुलेन्स सुविधा दिने गरेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिका कै ज्योती केसीले टोल विकास समितिहरुको काम र कर्तव्यहरुको बारेमा जानकारी दिनुभएको थियो । 

त्यस्तै वीरेन्द्रनगर नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले नगरपालिका अन्तरगत ४ समूहहरु टोल विकास समिति, आमा समूह, महिला समूह र कृषि समूह रहेको बताउँदै समूहहरुलाई समृद्ध बनाउनकालागि विभिन्न आयआर्जन कसरी गर्न सकिन्छ भन्ने बारेमा बताउनुभएको थियो ।

कार्यक्रमको समापन गर्न ९ न‌ं वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेको सम्पूर्ण जनताहरुलाई राम्रो कुराको शुरुवात आफैबाट शुरु गर्न सके टोल वडा गाँउ हुदै देश समृद्ध हुने बताउनुभयो ।

कार्यक्रममा वडामा रहेका ३० वटा टोल विकास समितिका अध्यक्षहरु एवं टोल विकास समितिले सिफारिस गरेका सदस्यहरुको सहभागिता रहेको वडा सचिव देव मुलेलले जानकारी दिनुभयो ।