५ जेठ, नेपालगन्जको रानी तलाउस्थित तरकारी बजारमा पाकेको र सडेगलेको परवललाई केमिकल प्रयोग गरेर पुनः हरियो र ताजा बनाएर बजारमा बिक्री गर्ने गरेको खुलासा भएको छ।
केमिकल हालेर ताजा जस्तो देखिने बनाएर बिक्री बितरण गरिने तरकारी मानव स्वास्थ्यका लागि हानिकारक भएपनि अनुगमन गर्ने निकायको लापरबाहीका कारण केही तरकारी व्यापारीले यस्ता तरकारी बजारमा बिक्री गर्दै आएका छन्।
सीमावर्ती भारतीय क्षेत्रबाट कुहिएको तरकारी ल्याउने र नेपालगन्जमा केमिकल प्रयोग गरेर बिक्री वितरण गर्ने गरेको पाइएको छ।
भारतीय बजारबाट व्यापारीक प्रयोजनका लागि बढी परिमाणमा तरकारी ल्याउँदा प्लान्ट क्वारेनटाइनबाट चेक जाँच गराई भन्सार तिर्नुपर्ने नियम छ ।नाकामा नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, प्लान्ट क्वारेन्टाइन र भन्सारलगायतका सरकारी निकाय भएपनि सडेगलेको तरकारी आयात हुँदा ती सबै निकाय रमिते बनेका छन्। यसबाट उपभोक्ताको स्वास्थ्यमा सिधै खेलबाड भएको छ ।
रंगको प्रयोगले मृगौला, कलेजोमा दीर्घकालिन असर बढ्दै गएर क्यान्सर समेत हुन सक्ने सम्भावना हुने चिकित्सकहरुको भनाइ छ।
बजारमा ताजा र हरियो परवलको भाउ प्रतिकेजी ८० रुपैयाँ भएपनि सस्तोमा तरकारी खोज्ने उपभोक्तालाई ताजा जस्तै देखिने केमिकल हालिएको परवल व्यापारीले प्रतिकेजी ५० रुपैयाँमा बिक्री गर्दै आएका थिए ।
बाँकेमा उपभोक्ताको हित कायम गर्न जिल्ला प्रशासन कार्यालय बाँके, वाणिज्य कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जस्ता निकाय छन्। केमिकल मिलाई तरकारी बिक्री गरिने रानी तलाउ तरकारी बजार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयदेखि करिब २ सय मिटरको दुरीमा पर्छ । तर ती निकायको नजर तरकारी बजारमा भने पर्ने गरेको छैन।
हालै भने पाकेको र सडेगलेको परवललाई केमिकल हालेर हरियो र ताजा बनाएर बिक्री गर्ने खुलासा भएको छ। योसँगै यस गिरोहका तीनजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
प्रहरीले भारत वहराईच वनजडिया वस्ने लाकराम सोनखर, कृपाराम सोनखर र लक्षीराम सोनखरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।
रंग हालेर, त्यसको आकार प्रकार परिवर्तन गरेर, कृत्रिम तरिकाबाट तयार गरी कुनैपनि तरकारी फलफुल बेच्नु गैरकानुनी काम भएपनि अनुगमन नहुने र भई हाले पनि बदमासी गर्ने व्यक्तिमाथि कारबाही नहुने कारणले यस्ता घटना पछिल्ला दिनमा बढ्दै गएका छन्।
पक्राउ परेका अभियुक्तलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा दर्ता गरेर कारवाही प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
साभारः सेतोपाटी अनलाइन



Prawash Kumar Shakya । ५ जेष्ठ २०७३, बुधबार ०६:३१ बजे