सकियो रूस विश्वकप


मस्को : पूर्वविजेता फ्रान्सलाई नै उपाधि चुमाउँदै विश्वकप फुटबलको २१औं संस्करण सकिएको छ । फ्रान्सले आइतबार राति खेलिएको रोमाञ्चक फाइनलमा क्रोएसियालाई ४-२ गोलले हराउँदै दोस्रो पटक उपाधि हात पारेको हो । यसअघि फ्रान्सले सन् १९९८ मा आफ्नै देशमा आयोजना भएको विश्वकप जितेको थियो । यसपटक विश्वकपले क्रोएसियाका रुपमा नयाँ विजेता पाउने अनुमान गरिए पनि युवा खेलाडीले भरिएको फ्रान्सका अगाडि क्रोएसियाको केही लागेन ।

खेलको १८औं मिनेटमै क्रोएसियाका मारियो मान्जुकिचबाट हेडमार्फत आत्मघाती गोल भएपछि फ्रान्सले अग्रता लिएको थियो । २८औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३८औं मिनेटमा डीबक्सभित्र पेरिसिचको ह्यान्ड भएपछि फ्रान्सले पेनाल्टी प्रहारको अवसर पायो । सोही अवसरलाई सदुपयोग गर्दै एन्टोइन ग्रिजम्यानले फ्रान्सलाई २-१ को अग्रता दिलाए ।

यसैगरी ५९औं मिनेटमा अनुभवी खेलाडी पल पोग्बाले फ्रान्सलाई ३-१ को अग्रता दिलाए । ६५औं मिनेटमा केलियन एमबाप्पेले फ्रान्सका लागि चौथो गोल गरे । जारी विश्वकपमा गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । १९ वर्षीय एमबाप्पेले गरेको यो चौथो गोल हो । ६९औं मिनेटमा क्रोएसियाका लागि मारियो मान्जुकिचले दोस्रो गोल गरे पनि टोलीको पराजय टार्न त्यो पर्याप्त हुन सकेन । जारी विश्वकपमा मान्जुकिचले गरेको यो तेस्रो गोल हो ।

फ्रान्सेली टोलीका ४९ वर्षीय प्रशिक्षक डिडियर डेसच्याम्पसका लागि पनि यो विश्वकप विशेष रह्यो । उनी आफ्नो टोलीलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकका रुपमा विश्वकप दिलाउने तेस्रो ब्यक्ति बने । यसअघि ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फ्रान्ज बेकनबाउरले आफ्नो देशलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा विश्वकपको उपाधि चुमाएका थिए । फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा डेसच्याम्पस टोलीका कप्तान थिए । खेलाडीको भूमिकामा फ्रान्सलाई उपाधि दिलाएको २० वर्षपछि उनले प्रशिक्षकको भूमिकामा अर्को उपाधि चुमाएका हुन् ।

आफ्नो टोली उपाधिबाट चुके पनि क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ‘गोल्डेन बल’ पुरस्कार जिते । इङ्ल्यान्डका हेरी केनले सर्वाधिक गोलकर्ताका रुपमा ‘गोल्डेन बुट’ पुरस्कार पाए । उनले प्रतियोगितामा एउटा ह्याट्रिकसहित ६ गोल गरे । यद्यपि, उनको टोली इङ्ल्यान्ड प्रतियोगितामा चौथो भयो ।

यसैगरी फ्रान्सका एमबाप्पे सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका बेल्जियमका थिबाउट कोर्टोइसले ‘गोल्डेन ग्लोभ्स’ पुरस्कार हात पारे । तेस्रो स्थान हासिल गरेको बेल्जियमले यो विश्वकपमा सर्वाधिक १६ गोल ग¥यो । बेल्जियमका १० जना खेलाडीले यो विश्वकपमा गोल गरेका थिए । अन्नपूर्णपोष्टबाट