वनगाड कुपिण्डेनगरपालिकामा विवाद चुलिदा नगर सभा प्रभावित


रमेश कुमार वली
सल्यान ३ साउन । सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा वजेट विनियोजनको विषयमा नगर प्रमुख र उप प्रमुखविच विवाद चुलिएको छ । नगरप्रमुख गोविन्द पुनले वजेट विनियोजनमा मनोमानी गरेको भन्दै उपमेयर सहित दुईतिहाई कार्यपालिका सदस्यदहरुबाट छुटा छुट्टै वजेट नगरसभामा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

विहिवार जिल्लाको सल्लीवजारमा उपमेयर ८ जना वडाध्यक्ष तथा ८ जना कार्यपलिका सदस्यहरुले पत्रकार सम्मेलनको आयोजना गरी मेयर पुनले नगरपालिकाका हरेक काममा मनोमानी ढंगले चलाउन खोजेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा वितरित १३ वुदे प्रेसविज्ञप्ती मार्फत नगरपालिका भित्र भइरहेको विसंगति, आर्थिक चलखेल, वजेट अधिकार क्षेत्र, वजेट विनियोजन तथा वाँडफाडमा मेयरले हस्तक्षेपकारी काम गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नगर प्रमुख पुनले संस्थाहरुलाई मनोमानी ढंगले रकम वाडेको, आयोजनाहरुको अनुगमन नै नगरी हस्ताक्षर गरेर रकम निकासा गरेको तथा सार्वजनिक सुनुवाईहरु सार्वजनिक स्थलमा नगरेको उल्लेख गरिएको छ । यस्तै नगर प्रमुख पुनले सम्वन्धमा कुरा उठाउदा जनप्रतिनिधिहरुलाई अभद्र व्यवहार गर्ने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष ०७५।०७६ को वजेट प्रस्तुतको विषयलाई लिएर चुलिएको विवादका कारण मेयर पुनले प्रस्तुत गर्ने वजेट कार्यपालिकाको वहुमतले अस्वीकृत गर्ने र उप प्रमुख यरीले प्रस्तुत गर्ने वजेटलाई स्वीकृत गर्ने निर्णय भएको उप मेयर यरीले जानकारी दिनुभयो ।

“मेयर पुनले आफुहरुसंग कुनै छलफल नै नगरी वजेट प्रस्तुत गरेको भन्दै यसबारे कुराउठाएमा धम्की दिने गरेको गुनासो गर्नुभयो । करिव २ हप्ता अघि देखि दैनिक रुपमा कार्यपालिकको वैठक लगातार वसिरहदा पनि कुनै सहमति हुन नसकेपछि नगर सभा समेत प्रभावित भएको छ ।

यता नगर प्रमुख गोविन्द पुनले भने आफुलाई लगाइएको आरोप कपोकल्पित भएको वताउनु भएकोछ । आफुले विनियोजन गरेको वजेटमा सवै वडाको आवश्यकताहरुलाई मध्यनजर गरेर विनियोजन गरेको दावी गर्नु भयो । “वडाध्यक्षहरुले आफनो वडाको योजना ल्याउने हो त्यसका आधारमा वजेट विनियोजन हुन्छ दामासाहीले वाड्ने कुरा गलत छ ।”नगर प्रमुख पुनले भन्नुभयो । केही वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुले वहुमतको हुर्मत देखाएर नगरलाई असफल वनाउने खेलमा लागेको आरोप लगाउनुभयो ।

“सवैवडाहरुमा दामासाहीले वजेट विनियोजन गर्दा नगरका दुरगामी र महत्वपूर्ण योजना के हुन्छन् ?पुनले भन्नुभयो मैले राज्यको नीति र विधि अनुसार काम गर्ने हो ।” पुनले भन्नुभयो ।