डिआइजी नेतृत्वको टोली जुम्लामा


साउन ७, जुम्ला ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काठमाडौं लैजाँदै गर्दा भएको घटनाको छानबिन गर्न डीआइजी नेतृत्वको टोली जुम्लामा पुगेको छ ।

नेपाल प्रहरीका डीआइजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र डीएसपी चुडामणी बुढाथोकी सहितको तीन सदस्यीय टोली जुम्ला पुगेको हो । टोलीले अस्पतालमा भएको घटना बारे प्रतिष्ठानका पदाधिकारी तथा अन्य सरोकारवाला निकायसँग छलफल गर्ने कार्ययोजना रहेको छ ।

चिकित्सक र कर्मचारीहरुले पनि घटनाको छानबिन गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको माग गरिरहेका बेला टोली जुम्ला पुगेको हो ।

संवेदनशील अस्पताल क्षेत्रमा प्रहरीले गोलीसम्म चलाएकाले घटनाको छानबिन गरि दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने स्थानीयले चर्को रुपमा माग गरेका छन् ।

अस्पतालभित्रै प्रहरीले लाठीचार्ज गर्दा दुई दर्जन बढी चिकित्सक र विद्यार्थी घाइते भएका थिए भने तीनजना प्रहरी पनि घाइते भएका थिए । गोली लागेर गम्भिर घाइते भएका प्रहरी कमल आचार्यको काठमाडौंमा उपचार भइरेहो छ ।