‘बाटो हेर्यो विकट छ, तर चित्र हेर्यो भने कर्णाली धनी रहेछः मुख्यमन्त्री कँडेल (भिडियोसहित)


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको जन नमूना माविको हलमा लोपोन्मुख राउटे समुदायका पाँच जना युवा काठका मुडाबाट विभिन्न सामग्रीहरु बनाउँदै थिए । राउटे युवा  नवीन शाहीले पिर्का बनाउनुभयो । दीपकले कोसी अनि बन्दवीर र सुरवीनले डाडु र पन्यौं बनाउनुभयो । अवलोकन गर्न आउनेहरु राउटेले बनाउँदै गरेका सामग्रीहरु हेर्दै मख्ख परिरहेका थिए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले मंगलबारदेखि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रादेशिक ललितकला प्रदर्शनी-२०८१ को आयोजना गरेको छ । उक्त प्रदर्शनीमा कर्णालीका विभिन्न जिल्लाका चित्रकारहरुले बनाएका चित्रकलाहरु प्रदर्शनमा राखिएका छन् भने राउटेका सामाग्रीहरुसँगै राउटेले जंगलबाट काठ ल्याएर प्रदर्शनीस्थलमै काठका सामग्रीहरु बनाउने व्यवस्था मिलाइएको छ ।

‘जन्मँदै सीप ल्याएर आएको समुदाय रहेछ,’ प्रदर्शनी अवलोकन गर्न आउनुभएकी कालीकोटकी सुशीला गिरीले भन्नुभयो, ‘हेर्दाहेर्दै एकैछिनमा राउटेले काठबाट डाडु, पन्यौं, कोसी, पिर्का बनाएर देखाए । केही दिनअघि सुर्खेतको प्रसिद्ध बुलबुले उद्यानमा ‘सामाजिक रूपान्तरणमा ललितकलाको अभियान’ भन्ने नाराका साथ कर्णालीका चित्रकारहरुले चित्र कोरेका थिए । ति चित्रहरु पनि प्रदर्शनीमा राखिएको छ ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले यही फागुन १० गतेसम्म चल्ने प्रदर्शनीमा आठ वटा विधा समेटिएको बताउनुभयो । ‘परम्परागत चित्रकला, समसामयिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक मूर्तिकला, वास्तुकला तथा लोककला, हस्तकला, नवप्रतिभा र बहुआयामिक तथा अन्य सृजनात्मक कला प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । ‘सबै विधामा एक–एक जना र एक जनालाई उत्कृष्ट पुरस्कारको पनि व्यवस्था गरेका छौं,’ उहाँले भन्नुभयो, ‘चित्रकलालाई देशब्यापी बनाउने अभियानस्वरुप प्रत्येक प्रदेशमा हरेक वर्ष प्रदर्शनीको आयोजना गरिरहेका छौं ।’

कार्यक्रमका प्रमुखअतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चित्रकला प्रदर्शनीका लागि कर्णाली प्रदेशको राजधानीमा भवन निर्माण गर्ने बताउनुभयो । उहाँले प्रदर्शनीस्थल नहुँदा विद्यालयको भवन प्रयोग गर्नुपर्ने अहिलेको अवस्थाको अन्त्यका लागि आफू लाग्ने बताउनुभयो । ‘स्थानीय सरकारले जमिनको व्यवस्थापन गरिदिए प्रदेश सरकारले भवन निर्माण गर्छ,’ प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘अव अर्को वर्ष विद्यालयको कोठा खोजेर प्रदर्शनी गर्न नपर्ने गरेर काम गछौं ।’ उहाँले कर्णाली प्रज्ञा प्रतिष्ठान गठनको तयारी भइरहेको जानकारी पनि दिनुभयो ।

‘संघीय सरकारले वा केन्द्रमा गठन भए अनुसार विषषगत संरचना र संस्था बनाउन हामी नसकौंला,’ ‘गच्छ अनुसारको सरकार चलाएका छौं, सोही अनुसारको संरचना निर्माणको तयारीमा छौं ।’ मुख्यमन्त्री कँडेलले कर्णाली कला र संस्कृतिका हिसावले सम्पन्न प्रदेश रहेको बताउनुभयो । उहाँले साधन–स्रोतको अभावले कला र संस्कृतिमा धनी भएपनि त्यसको उपयोग हुन नसकेको जिकिर गर्नुभयो । ‘बाटो हेर्यो विकट छ, तर चित्र हेर्यो भने कर्णाली धनी रहेछ भन्ने देखाउँछ,’ उहाँले भन्नुभयो, ‘साधन स्रोतको अभावमा यसको विकास हुन मात्रै नसकेको हो ।’ मुख्यमन्त्री कँडेलले भन्नुभयो ।

त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यागत उत्कृष्ट हुनेलाई ३०–३० हजार र आठै विद्यामा उत्कृष्ट हुनेलाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो । उहाँले पाँच दिनसम्म चल्ने प्रदर्शनीमा १० हजारबढीले अवलोकन गर्ने बताउनुभयो ।

कार्यक्रममा मुख्यन्त्री कँडेलले कर्णालीका ३ जना कलाकारहरुको सम्मान गर्नुभयो । कालिकोटका मूर्तिकार हरक बहादुर शाही, कलाकार मनिजङ्ग शाही र सुर्खेतका आर्टिष्ट सुभाष कुमार शाक्य सम्मानित हुनुभएको थियो ।