बाढीमा ज्यान गुमाएका व्यक्तिको शवबाट गहना निकाल्ने दुई जना पक्राउ


रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका व्यक्तिको शवबाट कानको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शवबाट मुन्द्रा निकालिरहेको दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी थालेको थियो । भिडियोका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उनीहरूको पहिचान गरी पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल चितवनमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवनमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।

प्रहरीले दुवै जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ । शबको कानबाट सुन निकाल्दै गरेको भिडियो सार्वजनिक भएसँगै दुईयूवामा मानवता नभएको चर्चा चौतर्फी चलेको थियो ।