
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–६, घण्टाघर लाइनस्थित चर्चित खड्का होटलले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख ६९ हजार ६१८ रुपैयाँ सहयोग गरेको छ ।
असहाय तथा विपन्न नागरिकका लागि सहयोग जुटाउने उद्देश्यले करिब तीन वर्षअघि होटल परिसरमा राखिएको चन्दा बक्समा संकलित रकम बाढीपीडितका लागि प्रदान गरिएको हो ।
होटल सञ्चालक कृष्ण खड्का र खेमराज खड्काका अनुसार उहाँहरूका बुवा स्वर्गीय शिवराज खड्काको परिकल्पना तथा योजनाअनुसार होटल परिसरमा चन्दा बक्स राखिएको थियो । उक्त बक्समा ग्राहकहरूले स्वच्छाले जम्मा गरेको ७ लाख ८ हजार ६१८ रुपैयाँ संकलन भएको थियो । त्यसमा खड्का परिवारले आफ्नो तर्फबाट १ लाख ५१ हजार रुपैयाँ थप गरी कुल ८ लाख ५९ हजार ६१८ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।
रकम संकलन गरिएको चन्दा बाकस प्रहरी तथा प्रशासनका प्रतिनिधि, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय पत्रकार, स्थानीय व्यक्तित्व तथा खड्का परिवारका सदस्यहरूको रोहवरमा खोलेर रकम गणना गरिएको थियो ।
खड्का परिवारले विपद्को पीडामा परेका नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नु सामाजिक दायित्व भएको बताएको छ । विशेषगरी स्वर्गीय शिवराज खड्काले देखाएको ‘असहाय र विपन्नका लागि सहयोग जुटाउने’ मानवीय सोचलाई निरन्तरता दिँदै संकलित रकम विपद्मा परेका नागरिकको राहतका लागि प्रदान गरिएको परिवारको भनाइ छ । सञ्चालक कृष्ण खड्का अनुसार आज बैंक विदा भएकोले भोली रकम जमा गरिने छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला खड्का होटलले गरेको यो सहयोगले व्यावसायिक प्रतिष्ठानले कमाएको मात्र होइन, समाजलाई पनि केही फर्काउनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।




Prawash Kumar Shakya । १४ भाद्र २०८३, आईतवार १६:०८ बजे