“विप्लव”लाई बचाउन विङ्गसको सहयोग अपिल


२१ भाद्र, सुर्खेत । विङ्गस फाउण्डेसन सुर्खेतले १ बर्षिय बालकको मुटुको उपचार गराउनकालागि मनकारी दाताहरुलाई सहयोग गर्न अपिल गरेको छ ।

आर्थिक अभावका कारण उपचारबाट आञ्चित मुटुमा प्वाल भएका मंगलसेन १३ अछामका १ वर्षीया बालक विप्लव धामीको उपचार गराउने जिम्मा लिएर विंग्स फाउण्डेसनले सहयोगको अपिल गरेको हो ।

नेपाल बाल पोलिक्लिनक सुर्खेतमा कार्यरत अहेब प्रतिमा चपाई र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा स्टाफ नर्समा कार्यरत कल्पना बस्नेतले सहयोग संकलन गरि धामीको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

विङ्गस क्रियाशील सदस्य अहेब गौतम र स्टाफ नर्स बस्नेतले आफैंले केहि र सामाजिक सञ्जाल मार्फत सहयोग संकलन गरि उपचारमा लाग्ने सबै रकम जुटाई विप्लवको उपचार गर्ने बताउनुभएको हो । परिवारको आर्थिक अवस्था कमजोर हुँदा विप्लवको उपचार हुन नसकेको थाहा पाएपछि आफूहरुले सहयोग संकलन गर्न जुटेको चपाईको भनाइ छ ।

फाउन्डेसनका प्रमुख एवं नेपाल बाल पोलिक्लिनिक सुर्खेतका संञ्चालक तथा वालरोग विषेशज्ञ डा. नवराज केसीले पनि विप्लवको जीवन रक्षाका लागि सक्दो सहयोग गर्न सबैसँग आग्रह गर्नु भएको छ । डा. केसीका अनुसार, विप्लवलाई जन्मँदा देखि नै मुटुमा प्वाल परि जटिल प्रकारको समस्या भएको छ । मुुटुमा देखिएको प्वालको समयमा नै शल्यक्रिया नभए ज्यान जाने उच्च जोखिम हुन्छ ।

सरकारले मुटु रोगको उपचार निःशुल्क गर्ने भए पनि अन्य खर्च समेत व्यहोर्न सक्ने अवस्था नभएकाले छोराको उपचार पाउन नसकेको विप्लपकी आमा भावना न्यौपानको भनाई छ ।

‘उपचारका लागि दुइ लाख लाग्छ रे ।’ उहाँले भन्नुभयो, ‘बिहान साँझ छाक कसरी टार्ने चिन्ता हुन्छ, उपचार गर्न २ लाख पैसा कहाँबाट ल्याउने? ।’

बिगत ८ महिना देखि उक्त समस्याबाट पीडित विप्लवको उपचारका ‘विप्लव बचाऔं’ अभियान गरेर विभिन्न व्यक्ति तथा संस्थाहरूबाट आर्थिक सहयोग जुटाएर विप्लवको उपचार हुने चपाइ र गौतमको विश्वास छ ।

विप्लवको शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा उनको आउँदो कातिक १२ गते शल्यक्रिया हुने भएको छ । विंग्स फाउण्डेशनकै सहयोगमा गंगालाल पुगेर विप्लबको स्वास्थ्य परीक्षण गराइएको थियो । अस्पतालले आउँदो कातिक १२ गते  शल्यक्रिया गर्ने मिति तय गरेको अहेब चपाईले जानकारी दिनुभयो ।

मनकारी सहयोगी भावना भएकाहरुले मोबाइल न‌ं. ९८२४५८६२७८ र ९८१५५७९४०४ मा सम्पर्क गरि सहयोग संकलनमा टेवा पुर्याउन सकिने फाउण्डेसनका प्रमुख डा. केसीले आशा ब्यक्त गर्नुभएको छ ।

स्मरण रहोस केही समय पहिले विङ्गस फाउण्डेस मार्फत चपाईले “अञ्जली बचाऔं” अभियानमा संचालन गरेर बालिका अञ्जलीले नयाँ जविन पाएकि छिन् ।