सुर्खेतमा लागुऔषध ओसारपसारमा बृद्धि


अशोक राजी

सुर्खेत, १९ साउन । पछिल्लो समयमा सुर्खेत जिल्लामा ब्राउन सुगर र अफिम ओसार पसारमा मात्रै नभएर सेवनमा समेत झनझन बढ्‍दै गइरहेको छ । पैसा कमाउने छिटो र सजिलो उपाय मानिने हुनाले ब्राउन सुगर, अफिम जस्ता लागू औषध ओसार पसार कार्यमा बृद्धि हुँदै गएको पाइन्छ ।

लागू औषध ओसार पसारमा र सेवनमा विगत वर्षको तुलनामा गतिविधि बढ्‍नाले पनि जिल्लामा विगत भन्दा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक बहादुरजंग मल्लले बताउनुभयो ।

उहाँले सुर्खेतमा आर्थिक वर्ष २०७१ र ०७२ को तुलनामा २०७२ र ०७३ मा लागूऔषध ओसार पसारमा दोब्बर भएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा भएको रेकर्ड अनुसार आर्थिक वर्ष २०७२ र ०७३ मा लागूऔषध कारोवार तथा ओसार पसारमा सम्लग्न भएको घटनामा १ जना महिला र २३ जना पुरुष गरी २४ जनालार्इ पक्राउ गरिएको छ । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार जिल्लाका विभिन्न स्थानबाट ६७ ग्राम ब्राउन सुगर, १७ ग्राम अफिम, ७१ थान नाइट्रोसन ट्‍यावलेट बरामद गरेको थियो भने आर्थिक वर्ष २०७१ र ०७२ मा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

लागूऔषध सेवन र ओसार पसारमा १६ वर्षदेखि २५ वर्षसम्मका युवा युवतीको बढी संम्लग्न देखिएको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो । मल्लले भने पछिल्लो समयमा बेरोजगारी संख्या बढ्‍दै गइरहेको छ, मान्छेहरु सजिलै पैसा कमाउने माध्यमले गर्दा पनि  लागूऔषध ओसार पसारमा धेरै लागेका छन्‍ ।

प्रहरी नायव उपरीक्षक मल्लले सुर्खेत जिल्लामा आधुनिकतासंगै महिलाहरुमा पनि मदिरापानको लत र लागूऔषध सेवनमा वृद्धि भइरहेको बताउनुभयो ।उहाँले भन्नुभयो ‘अहिले आधुनिकतासंगै महिलाहरुलार्इ मदिराको लत लागेको पाइन्छ, मदिरा पिएर होहल्ला गरेका ७ जना महिलाहरुलार्इ पक्राउ गरेको समेत उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७२ र ०७३ मा लागूऔषध ओसारपसारमा अदालतमा १२ वटा मुद्दा दर्ता भएको छ ।