रक्तसम्राट कर्माचार्यद्वारा १ सय ८१ पटक रक्तदान


२७ पौष, नुवाकोट । नेपालका सर्वाधिक शतक स्वयंसेवी रक्तदाता रक्तसम्राट प्रेमसागर कर्माचार्यले आज नुवाकोटको विदुरमा १ सय ८१ औं पटकको रक्तदान गर्नुभएको छ ।

रक्तसम्राट कर्माचार्यले आज पृथ्वी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लिमिटेडको २७औं को अवसरमा आयोजित रक्तदान कार्यक्रममा आफ्नो १ सय ८१ औं पटकको रक्तदान गर्नुभएको हो ।

१८१ औं पटक रक्तदान गर्दै कर्माचार्यले अहिले देशमा रक्तदान गर्ने यूवाहरु विदेशिदै गइरहेको र भएका यूवाहरुमा पनि रक्तदान गर्नुपर्छ भन्ने जोश जागर कम भएकोले यूवाहरुमा रक्तदान गर्ने भावनाको विकास होस भन्दै आफूले विभिन्न जिल्लामा रक्तदान गर्दै आएको बताउनुभयो । कर्माचार्यले यसभन्दा अगाडी कर्णालीको जुम्लामा १८०औं पटकको रक्तदान गर्नुभएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहनुभएका कर्माचार्य संस्थागत रुपमा नै दानमा दिइएको रगतलाई पिडित (विरामी) पक्षले निःशुल्क पाउनुपर्छ भनी संघीय सरकारलाई झक्झक्याउँदै आउनुभएको छ । हालै मात्र सुदूरपश्चिम सरकारले आफ्ना नागरिकहरुकालागि निःशुल्क रगत उपलब्ध गराउने जनाएको छ भने अन्य केही प्रदेश र पालिकाहरुले पनि आफ्ना नागरिकहरुलाई निःशुल्क रगतको व्यवस्थापन गर्दै आएको छ ।