भदौ ३०, हुम्ला ।
शनिवार दिउँसो झरेको सुक्खा पहिरोमा परि हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ नेक्पामा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना वेपत्ता भएका छन् ।
शनिबार विदा भएकाले स्थानीय बालबालिका नेक्पाको पोरी गाउँमा दाउरा संकलन गर्ने र खाबु टिपी रहेको बेला जंगलको माथिबाट एक्कासी सुक्खा पहिरो खसेपछि सो दुर्घटना भएको हो ।
सुक्खा पहिरो खस्दा घटना स्थल मै रहेकी अस्मीता तामाङ्गले कोही दाउरा टिप्दै र कोही खाबु टिप्दै गरेको अवस्थामा ठुलो आवाजसहित पहिरो खसेको सुनेको र त्यसपछि आफु बेहोस भएको उनले बताइन् ।
होस खुलेपछि शरिरमा केही चोट लागेको भएपछि तल हेर्दा बसन्तीको शरीर ढलेको अवस्थामा देखेको १५ मिनेट पैदलको दुरीमा रहेको गाँउमा आएर खबर गरेपछि गाउँलेले थाहा पाएको उनले बताइन् ।
खबर भए लगत्तै गाउँका मानिसहरु गएर मृतक तथा घाईते सबैको उद्धार गरेर गाउँमा ल्याएको उनले बताइन् । घटना भएपछि अहिले सिंगो गाउँमा सन्नाटा छाएको छ ।
माथिको पहाड फुटेर खसेको ढुंगा लागेर चंखेली गाउँपालिका वडा नम्बर ५ की २४ वर्षीया बसन्ती तामाङ् र १३ वर्षीया अनिता तामाङ्गको घटना स्थलमै मृत्यु भएको वडा अध्यक्ष भैरव बहादुर तामाङ्गले जानकारी दिए ।
अर्का एक नाम नखुलेकी बालिका अझै बेपत्ता रहेकाले उनको खोजी कार्य जारी रहेको भए पनि यो समाचार तयार पार्दा सम्म पत्ता नलागेको अध्यक्ष तामाङ्गले बताए ।
सुख्खा पहिरोमा परि अन्य ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ११ वर्षीया अस्मिता तामाङ्ग, ९ वर्षीया बिनिता तामाङ्ग, ११ वर्षीय हेमन्त तामाङ्ग र ८ वर्षीय युकेश छन् । उनीहरुको सिम्रीक एयरको हेलिकोप्टरबाट उद्धार गरि जिल्ला अस्पतालमा उपचार भइरहेको अध्यक्ष तामाङ्गले बताए ।
घाईते मध्ये बिनिताको दायाँ खुट्टामा गम्भीर चोट र हेमन्तको टाउकोमा गम्भीर चोट लागेकाले उनीहरूलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको उपचारमा संलग्न डा. नबिन रोकायाले बताए ।
अन्य दुई जनाको भने अवस्था समान्य रहेकोले जिल्ला मै उपचार भइरहेको छ । । शनिवार बेलुका सिम्रीक एयरबाट दुबै जनाको नेपालगंज उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
घटना स्थल गाउँपालिका केन्द्रबाट ६ घण्टा पैदल लाग्ने भएकाले प्रहरी त्यसतर्फ लागेको भए पनि शनिवार बेलुकासम्म पुग्न सकेको छैन । घटनास्थलमा रहेका अन्य पाँच जना बालबालिका भने शकुसल रहेको अध्यक्ष तामाङ्गको भनाइ छ ।



Milan Shrestha । ३० भाद्र २०७५, शनिबार १८:०९ बजे