थानकोट डिपोको पेट्रोल भण्डार भरियो – ३५ ट्यांकरले खन्याउनै पाएनन्


४ माघ, काठमाडौं । नेपाल आयल निगमको थानकोटस्थित डिपोको पेट्रोल भण्डार भरिएपछि अाइतबारदेखि अाएकाे तेल ट्यांकरमै  थन्किएको छ । थानकोट डिपोमा रहेका १८ लाख ७० हजार लिटर क्षमताको पेट्रोलको ट्यांकीहरु भरिएका हुन् । पछिल्ला दिनमा भारतबाट आउने पेट्रोलको परिमाण बढ्दै गएपनि निजी सवारीलाई नदिइ भण्डारण गरेर राखिएका कारण डिपोको भण्डार भरिएको हो । उपभोक्ताले कालोबजारीको मंहगो तेल किनिरहेका बेला आयल निगमको डिपो भने भरिएको छ । भारतबाट आएको पेट्रोल डिपोमा राख्ने ठाउँ नभएपछि १० वटा ट्यांकर अनलोड नगरी डिपो परिसरमै राखिएको डिपो प्रमुख जगन्नाथ घिमिरले अनलाइनखबरलाई जानकारी दिए । ‘२५ वटा ट्यांकरमा पेट्रोल काठमाडौं आउँदैछ । अहिले पनि १० वटा जतिको तेल खन्याउन पाइएको छैन’  घिमिरेले भने । त्यसैकारण बुधबारदेखि तीन दिन निजी मोटरसाइकललाई तेल दिने निर्णय भएको उनले बताए । अब ट्याक्सीले पनि सातामा दुई पटक पेट्रोल भर्न पाउनेछन् । घिमिरेले अब काठमाडौंमा निजी मोटरसाइकलाई तेल दिन डिपोको भण्डारमा रहेको तेल चलाउनै नपर्ने बताए । ‘अनलोड नभएका र आउँदै गरेका ट्यांकरको तेलले नै ३ दिन मोटरसाइकललाई बाँड्न पुग्छ’ घिमिरले भने-‘अब विस्तारै आपूर्ति सहज भएपछि बजारमा पठाउने पेट्रोलको मात्रा बढाउन सकिन्छ ।’
साभार : अनलाइनखबर