
नेपालगन्ज । नेवाः पुचः बाँकेले विगतका वर्षहरुमा झैं यस वर्ष पनि बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम यही माघ २० र २१ ग्तेका दिन पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा आयोजना गर्न लागेको हो ।
बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशी र चन्द्र बहादु श्रेष्ठको संयोजनमा आयोजना गरिएको नेवार समुदायको विधिवत रुपमा हुने उक्त अनिवार्य संस्कारमा पश्चिम नेपालका धेरै जिल्लाहरुबाट नेवार समुदायका बालवालिकाहरुको सहभागिता हुँदै आएको छ ।
नेवाः पुचः बाँकेका अध्यक्ष जोशीका अनुसार नेवाः देय् दवू बाँके जिल्ला शाखा र नगर कमिटी, मिसाः पुचः, भृकुटी नगर गुठी, झिगु नेवाः गुठी घरवारी टोल, कारकाँदो गुठी, राँझा गुठी, भीमसेन गुठी कोहलपुर लगायतको सहकार्यमा हुने उक्त संस्कार कर्ममा पचास जना भन्दा बढी बालक तथा वालिकाहरु सहभागी हुने अनुमान गरिएको छ । उक्त कार्यक्रमको तयारीका लागि प्रचार प्रसार उपसमितिको संयोजकमा सचिव विवेक श्रेष्ठ तथा अन्य उपसमितिमा उपाध्यक्ष हरिश्चन्द्र श्रेष्ठ, शीला श्रेष्ठ लगायत रहनु भएको छ ।
नेवार समुदायमा अनिवार्य संस्कारको लिइने सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) का लागि बाँके र छिमेकी जिल्लाहरुबाट नेवाः पुचः स्थापना हुनुपूर्व यस भेगमा विधिवत पूजा गर्ने पुजारी नपाइने भएकोले काठमाडौं, बुटवल, पाल्पामा जानुपर्ने वाध्यता भएको नेवाः पुचः बाँकेका पार्षद् पूर्ण लाल चुकेले बताउनु भयो । यस वर्ष पनि काठमाडौंबाट राजोपाध्याय समाजका अध्यक्ष संजय राजोपाध्याय र अर्का एक जना पुजारी आउने निश्चित भएको नेवाः पुचः बाँकेका अध्यक्ष जोशीले जानकारी दिनु भयो ।
उल्लेखनीय छ, नेपालका आदिवासी जनजातिहरूमध्ये पृथक अर्थात् विशिष्ठ खालका संस्कृति, संस्कार रहेको नेवार जातिको ‘नेवार’ शब्दको अर्थ ‘नेपालका बासिन्दा’ भन्ने हुने हुनाले नेपाल देशसँग पनि यस जातिको प्रत्येक्ष परोक्ष सम्बन्ध रहेको नेवार जातिको आफ्नै भाषा, लिपि, सम्वत्, संस्कार र संस्कृतिहरू छन् भने व्राम्हणदेखि सरसफाई गर्ने (पोडे) अलग अलग जाति छन् ।
सात वर्ष भएपछि बालिकाको बेललाई साक्षी राखेर सिन्दूर हाल्ने बेलविवाह संस्कार (ईही) संस्कार प्राचीनकालदेखि चली आएको मानिन्छ । ‘ईही’ को अर्थ ‘विवाह’ हो । यसले नेवार महिलाहरु कहिल्यै विधवा नहुने मान्यता स्थापित गरेको छ । इही एउटा समारोह हो, जसमा किशोरावस्थाका वालिकाहरूलाई भगवान विष्णुको प्रतीक सुवर्ण कुमारसँग “विवाह” गरिन्छ । त्यसैले विवाहित महिलाको श्रीमानको मृत्यु भएमा विष्णुसँग विवाह गरिसकेकी हुनाले विधवा मानिँदैन र यसरी पहिलेदेखि नै पति जीवित रहेको विश्वास गरिन्छ ।
त्यसैगरि नेवार समुदायका बालक अर्थात् बटुकका लागि गरिने अनिवार्य संस्कार व्रतबन्धलाई ‘केय्ता पूजा’ भनिन्छ । ‘केय्ता’ को अर्थ लगौँटी हुन्छ । लगौँटीलाई विधिवत् पूजा गरेर बटुक अर्थात् बालकलाई लाज छोप्न सिकाइन्छ । बालकका फुपूहरूले सात टुक्रा कपडा जोडेर सिलाएको लगौँटीले सातै लोकमा आफ्नो लाज जोगाउनु भन्ने सन्देश दिन खोजेको आभास हुन्छ । यो संस्कारमा बालकको मामा र फुपुको प्रमुख भूमिका रहेको हुन्छ ।
नेवार समुदायमा व्रतबन्ध (कय्ता पूजा) को बारेमा ऋग्वेद (ब्रम्ह गायत्री मन्त्र) र ऋग्वेद (शिव गायत्री मन्त्र) मा उल्लेख भए अनुसार नेवारहरूले ब्रह्मचार्यको अनुष्ठान पालनको रूपमा कय्ता पूजा भनिने उपनयन समारोह गर्छन्, यो जीवनको परम्परागत चार चरणहरूमा पहिलो चरण हो । अनुष्ठानको समयमा, जवान केटाले ब्रह्मचारी धार्मिक जीवनको लागि परिवार र वंश त्याग्छ । उसको टाउको माथिको टुप्पी बाहेक पूरै खौरिइन्छ, उसले पहेँलो-सुन्तला रंगको लुगा लगाउनु पर्छ, उसले आफ्ना आफन्तहरूबाट चामल मागेर संसारमा घुम्न तयार हुनुपर्छ । यो तपस्वी आदर्शलाई प्रतीकात्मक रूपमा पूरा गरिसकेपछि, उसलाई आफ्नो परिवारले घरधनीको जीवन, पति र पिताको रूपमा अन्तिम कर्तव्य ग्रहण गर्न फिर्ता बोलाउन सक्छ । दुई पटक जन्मेका (ब्राह्मण र क्षेत्रीय) नेवारहरू राजोपाध्याय र छ थरिया नेवार ब्राह्मणहरूले थप रूपमा उपनयन दीक्षा गर्छन् जहाँ केटाले आफ्नो जनै (संस्कृतः यज्ञोपवित) र गुप्त वैदिक मन्त्रहरू प्राप्त गर्दछन् । त्यसपछि केटालाई पूर्ण रूपमा द्विजको रूपमा आफ्नो जातिय हैसियतमा सम्मिलित गरिन्छ र अबदेखि सबै सामान्य नियमहरू र अन्य जातीय दायित्वहरू पालन गर्ने दायित्व तथा कर्म चलेको भनिन्छ ।
Prawash Kumar Shakya । १२ माघ २०८१, शनिबार २१:४१ बजे