घुस माग्दा कुटाइ खाए डोटीका सहायक वन अधिकृतले


डोटी, जेठ ३२ – डोटीको लानाकेदारेश्वर इलाका वन कार्यालयका एक कर्मचारी घुस माग्दा कुटिएका छन् । सहायक वन अधिकृत गुञ्जन महतराजले जडिबुटी ठेकेदार टेकबहादुर बोहरासँग घुस मागेका थिए ।

ठेकेदार बोहरालाई जिल्ला वन कार्यालय डोटीले छुट पुर्जी दिएको भएपनि इलाका वन कार्यालय विपिनगरका सहायक अधिकृत गहतराजले ५० हजार नदिए जाँचपास पुर्जी नदिने बताएपछि कुटपिट भएको हो । वन अधिकृत गहतराजलाई ठेकेदार बोहोराका छोरा हर्क बोहोराले कुटेका हुन् ।

वन अधिकृत गहतराजको आँखामा चोट लागेको छ । गहतराजलाई उपचारका लागि काठमाडौं लगिएको छ । कुटपिट बुधबार राति भएको भएपनि गहतराजले सोमबारमात्र जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए । इमेल मार्फत उजुरी गरेका गहतराज अहिले सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

गहतराजलाई कुटपिट गर्ने ठेकेदारका छोरा हर्क अहिले प्रहरी हिरातमा छन् । जटिबुटी बोकेको गाडी राकेको कारण बुझ्न खोज्दा अधिकृत गहतराजले आफुलाई गाली गर्दै एक चड्कन हिर्काए पछि सहन नसकेर आफूले पनि मुक्का हिर्काएको बोहराले बताए । उहाँले भन्नुभयो ‘राज्यलाई कर पनि तिर्नुपर्ने वनका कर्मचारीलाई घुस पनि दिनुपर्ने यो कस्तो नियम हो ?’

कार्यलयको कर्मचारी माथि कुटपिट भएको विषयमा छानबिन भइरहेको जिल्ला वन कार्यालय डोटीका जिल्ला वन अधिकृत बद्रिकुमार कार्कीले बताउनुभयो । घुस मागेको भनेर एकतर्फी कुरा मात्र आएको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘घुस मागेको भएपनि कुट्नुभन्दा कानूनी बाटो अपनाउन सकिन्थ्यो, मेरो स्टाफ उपचारमा छन् आएपछि सबै कुरा खुल्छ ।’
साभारःउज्यालो अनलाईन ।