रक्सीकै मातमा पसलतिर झर्दै गर्दा श्रीयालाई देखेपछि…(घटनाक्रमसहित)


कालो माक्सले छोपिएका अवस्थामा हत्यारा कुसुम पौडेल र बाँया जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी ओमराना साथमा दाँया प्रवक्ता रवीन्द्रमान गुरुङ । तस्बिर स्रोतः जिल्ला प्रहरी कार्यालय कास्की ।

पोखरा । पोखरा महानगरपालिका–२२, पुम्दी, कोदी, मामाघर बस्दै आएकी १० वर्षीया श्रीया विकको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि गरेको छ । श्रीयालाई बलात्कारपछि हत्या गर्ने सोही स्थानका २७ वर्षीय कुसुम पौडेललाई आज बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका कुसुम पौडेलको प्रहरीले प्रारम्भिक बयान लिने क्रममा आफ्नो संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक ओम रानाले जानकारी दिए ।

असोज ८ गते सोमबार साँझ ४ः३० बजे बिस्कुट किन्न भनी घरबाट निस्किएकी श्रीया भोलिपल्ट बिहान कोदीस्थित बराल कुल मन्दिरको पूर्वतर्फको भिरालो जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । श्रीयाको शव प्रहरीले पोष्र्टमाटमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

पोष्र्टमाटममा खटिएका चिकित्सकको टोलीले बलात्कारपछि गहिरो चोट पर्ने गरी हत्या गरेको रिपोर्टमा खुलाएको छ । अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी नविन कार्कीको कमाण्डमा टोली खटाइएको थियो । सोही अनुसन्धान टोलीले असोज ९ गते मंगलबार हत्यामा संलग्न भएको आरोपमा कुसुम पौडेललाई कोदीमै उनको घरबाट राति ८ः३० बजे पक्राउ गरेको हो ।

हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाउन कास्की प्रहरीले कुकुरलाई अनुसन्धानमा प्रयोग गरेको थियो । कुकुर श्रीया बस्ने मामाघरबाट १ सय मिटर पर पुगेर अल्मलिएको थियो । उनको मामाघर र हत्यामा संलग्न भएका कुसुम पौडेलको घर १ सय मिटरको फरकमा छ ।

श्रीया पोखरा–२२ स्थित लिला आधारभूत विद्यालय कक्षा ३ मा पढ्थिन । उनका बाबुले अर्को बिहे गरेपछि उनी २ वर्ष यता मामाघर बस्दै आएकी थिइन् ।

घाँटी थिचेर ढुंगाले पटकपटक हाने 
असोज ८ गते सोमबार बिहान ११ बजेदेखि नै कोदीमै रहेको एक स्थानीयको भट्टी पसलमा कुसुम पौडेल रक्सी पिइरहेका थिए । झण्डै दिउँसो १२ बजेको हुँदो हो कुसुम पौडेल बाँकी रहेको रक्सी लिएर प्रकाश बराल, सुशील बराल र राजकुमार विकसहित माथि डाँडामा पर्ने उदय केसीको घरमा बसी रक्सी खाईरहेका थिए ।

सोही दिनको ४ः४५ बजेको समयमा कुसुम पौडेल चुरोट किन्न भनि रक्सीकै मातमा तल पसलतिर झर्दै थिए । त्यत्तिकैमा श्रीया विक मामाघरबाट एक्लै तल झर्दै गरेको पौडेलले देखे ।

श्रीयाको मामाघरबाट त्यस्तै ६०÷७० मिटर तल एउटा सानो मन्दिर र पुरानो घर छ । त्यहीँ बिचमा पौडेलले श्रीयालाई चकलेट खाउ भनी ५ रुपैयाँ दिए । त्यहाँबाट यसो १० मिटर तल के झरेका थिए पौडेल  । पुरानो घर र पानी ट्यांकी बिचमा छेको पार्दै श्रीयालाई थप १० रुपैयाँको प्रलोभन देखाएर बोलाए ।

घटनाको बयान दिने क्रममा पौडेलका अनुसार त्यत्तिकैमा उनले श्रीयालाई जबर्जस्ती गर्न खोज्छन्, श्रीयालले उसलाई प्रतिकार गर्छिन । प्रतिकार गर्दा श्रीया आफैं ट्यांकी मुनि रहेको झाडीमा लड्न पुग्छिन् ।

झाडीमा पल्टिएको मौका पारी पौडेलले श्रीयाको कपडा खोल्छन र जबर्जस्ती गर्छन् । श्रीया चिच्याउँछिन् । पौडेलले श्रीयाको चित्कार बाहिर फुत्कन नदिन दुवै हातले उनको घाँटी थिच्छन् । घाँटी थिच्दा उनी बेहोस भइसकेकी हुन्छिन् र पौडेलले श्रीयाको योनीमा चोरी औला जबर्जस्ती घुसाउँछन् ।

बेहोस भइसकेकी श्रीयालाई ढुंगाले अनुहार र टाउकोमा प्रहार गर्छन र मरी भन्ने भईसकेपछि झाडीमा उनलाई छाडिदिन्छन् । पौडेलले भने झाडीकै बाटो बाँसघारी हुँदै मुख्य सडक पुग्छन् ।

मुख्य सडकमा पुगेपछि सडकसँगै जोडिएको पानीको मूलमा हात खुट्टा धोइपखाली गरी निरज खाजा घरमा चुरोट सल्काएर बस्छन् ।

सोही समयमा पौडेलकी श्रीमती दुध किन्न नजिकैको घरमा आउँदा उनलाई देख्छिन् र घर लिएर जान्छिन् । पौडेल घरमा गई आफूले लगाएको लुगा धोइपखाली गरी आँगनमा रहेको टङगालोमा लुगा सुकाई घरमै बस्छन् ।

साभारः रातोपाटी ।