आजदेखी नेपालीहरुको मौलिक सम्वत् नेपाल संवत् ११३९ शुरु (भिडियो सहित)


कार्यक्रमलाई सम्बोधन गर्दे नेवाः देय् दबू केन्द्रिय उपाध्यक्ष मिलन श्रेष्ठ ।

२२ कार्तिक, सुर्खेत । आज नेपाल सम्वत् ११३९ देशभर मनाइदै छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरका अनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराउनुभएको हो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा रहि आएता पनि बिगत समय देखि अन्य जिल्लामा पनि नेपाल सम्बत् भव्य रुपमा मनाउदै आईरहेका छन् ।

यसैवीच कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि नेपाल संवत् ११३९ आज मनाइएको छ । नेवाः देय् दबू जिल्ला कार्य समिति सुर्खेतले आज (विहीवार) आयोजना गरेको मोटरसाईकल र्यालीमा उल्लेखनिय उपस्थित रहेको थियो । स्थानिय मंगलगढी चौक देखि शुरु भएको र्याली वीरेन्द्रनगर बजार–गणेशचौक–घण्टाघर पार्क हुदै पुनः मंगलगढी चौकमा आएर कोण सभामा सहित समापन भएको थियो ।

 

शुभकामना मन्तव्य व्यक्त गर्दे सल्लाहकार एवंम् नेवाः देय् दबू निर्वतमान अध्यक्ष जीवनकुरमा शाक्य ।

नेपाल सम्बत् समापन कार्यक्रमलाई सम्बोधन गर्दे राजी साल्म समाज सुर्खेत्का सचिव अशोक राजीले नेपाल सम्बत् नेवारहरुको मात्र सम्बत् हो भन्ने परम्परा र सोचलाई चिर्नु पर्ने कुरामा जोड दिनुभयो । यसै गरी कार्यक्रमका अतिथि नेवाः देय्ः दबू जिल्ला कार्यसमिती निवर्तमान अध्यक्ष एवंम् सल्लाहकार जीवनकुरमा शाक्यले पटक–पटक बुझाउदा पनि नेतृत्वमा बसेकाहरुले नेपाल सम्बत्लाई राष्टिय सम्बत्को रुपमा ग्रहण गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । आखिर नेपालको चलन चल्तिमा रहि आएको बि.सं र ईस्वि सम्बत् जर्बजस्ती लादिएको हो भन्ने कुरामा जोड दिदै आखिर आम नेपालीहरुले आफ्नो सम्बत्लाई अपहेलित गरी बाहिर बाट आएको सम्बत्लाई प्राथमिकता दिनु दुखको कुरा रहेको व्यक्त गर्नुभयो ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, शाक्यले भन्नुभयो ।

नेवाः देय्ः दबू केन्द्रिय उपाध्यक्ष मिलन श्रेष्ठले नेपाल सम्बत् उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यस दिवसलाई जिल्लामा पनि बिगत देखि भव्य रुपमा मनाउदै आएकोमा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । नेवाः देय् दबू जिल्ला कार्य समिती सुर्खेतका अध्यक्ष तीला शाक्य श्रेष्ठको अध्यक्षता तथा सल्लाहकार एवंम् अतिथीहरु सुन्दरमान श्रेष्ठ, यामबहादुर श्रेष्ठको आथित्यमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण श्रेष्ठले गर्नु भएको थियो ।