मध्यपश्चिम यातायातको “शुभ-कर्णाली” रात्रीबसको सेवा शुभारम्भ

नेपालगंज, चितवन र काठमाण्डौं रेफर विरामीलाई निःशुल्क सेवा


सुर्खेत । कर्णाली प्रदेशमा स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने बिरामीलाई यातायात खर्चको आर्थिक भार कम गर्ने उद्देश्यले मध्यपश्चिम यातायात सेवा सुर्खेत प्रा.लि.ले मानवीय सेवाको नयाँ पहल अघि सारेको छ । प्रा.लि.ले कर्णाली प्रदेश अस्पताल र मेहेलकुना अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज, चितवन र काठमाडौं रेफर गरिएका बिरामीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको हो ।

प्रा.लि.ले हालै सञ्चालनमा ल्याएको ‘शुभ-कर्णाली’ रात्रिबस सेवासँगै यो मानवीय सुविधा घोषणा गरेको छ । सेवाको शुभारम्भ गर्दै सुर्खेत क्षेत्र नं. १ का सांसद समेत रहनुभएका प्रा.लि.का अध्यक्ष विष्णुबहादुर खड्काले उपचारका लागि बाहिर जानुपर्ने बिरामीलाई सहजता प्रदान गर्न यस्तो व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अब कर्णाली प्रदेश अस्पताल र मेहेलकुना अस्पतालबाट थप उपचारका लागि रेफर भएका बिरामीले यस सुविधाबाट लाभ लिन सक्नेछन् । यसले उपचारका क्रममा आर्थिक तथा यातायातको समस्या झेलिरहेका बिरामी र तिनका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रा.लि.का इन्चार्ज पवन श्रेष्ठका अनुसार निःशुल्क यातायात सुविधा लिन चाहने बिरामीले सम्बन्धित अस्पतालबाट जारी गरिएको रेफर पत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ ।

सामान्यतया बिरामीका लागि उपचार खर्चसँगै लामो दूरीको यातायात खर्च पनि ठूलो चुनौती बन्ने गरेको छ । यस्तो अवस्थामा निजी यातायात क्षेत्रबाट सुरु गरिएको यो पहल केवल व्यावसायिक सेवा नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उदाहरणका रूपमा समेत हेरिएको छ ।

सुर्खेतमा लामो समयदेखि यातायात सेवा प्रदान गर्दै आएको मध्यपश्चिम यातायात सेवा सुर्खेत प्रा.लि. (साविक मध्यपश्चिम यातायात व्यवसायी संघ) कर्णालीको पुरानो र ठूलो यातायात संस्था हो । यसले कर्णालीका विभिन्न जिल्ला तथा अन्य जिल्लाहरुमा पनि बस सेवा सञ्चालन गर्दै आएको छ । साथै संघीय राजधानी काठमाडौंलाई लक्षित गरी एयरसस्पेन्सन, स्लिपर तथा भिआईपी सोफासेट सुविधासहितका आधुनिक रात्रिबससमेत सञ्चालन गर्दै आएको छ ।