
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको माटोको उर्वराशक्ति र यहाँका परम्परागत रैथाने कृषि उपजहरूलाई जोगाउनु आवश्यक रहेको बताउनुभएको छ।
कृषि अनुसन्धान केन्द्र, दशरथपुरको निरीक्षण भ्रमणपछि त्यहाँका अधिकारीहरूसँगको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीका रैथाने बीउबिजन र माटोको संरक्षणमा जोड दिनुभएको हो ।
उहाँले कर्णालीमा जैविक (कम्पोष्ट) मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्नुपर्ने र कर्णालीकै रैथाने बाली र बीउबिजनलाई निरन्तरता दिँदै प्राङ्गारिक उत्पादनमा विशेष जोड दिनु आवश्यक रहेकको बताउनु भयो ।
कृषि अनुसन्धानको टोलीले ठूलो मात्रामा जैविक मल उत्पादन, बिक्री तथा वितरण गर्ने गरी आवश्यक अध्ययन र अनुसन्धान अगाडि बढाउन पनि उहाले निर्देशन दिनुभयो ।
रैथाने र प्राङ्गारिक उत्पादन वृद्धिका लागि प्रदेश सरकार कृषि अनुसन्धान केन्द्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उहाको उहाको भनाइ थियो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो कर्णालीका रैथाने कृषि उत्पादनहरू लोप हुने अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण हो । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने र रैथाने बाली जोगाउने उपायबारे केन्द्रले विस्तृत अध्ययन गर्नुपर्छ ।
अनुसन्धान केन्द्रले रासायनिक मल प्रयोग नभएको शुद्ध प्राङ्गारिक बीउ उत्पादनमा आफ्नो ध्यान केन्द्रित गर्नपनि सुझाब दिनुभयो ।
कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय, दशरथपुरका निर्देशक देविनिधि तिवारीले केन्द्रले भोग्नुपरेको समस्याबारे जानकारी गराउनुभएको थियो । उहाँका अनुसार निर्देशनालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० वटै जिल्ला भए तापनि आवश्यक जनशक्तिको अभावका कारण सबै क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सकिएको छैन् ।
निर्देशक तिवारीले बीउ उत्पादन कार्यमा प्रदेश सरकारको तर्फबाट थप लगानी भएमा अझ धेरै र प्रभावकारी काम गर्न सकिने धारणा समेत राख्नुभयो ।



Prawash Kumar Shakya । १५ कार्तिक २०८३, शनिबार १५:२४ बजे