बन्ने भयो दक्षिण एसियाकै नमूना अस्पताल रास्कोटमा


कार्तिक ३०, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सास्कोट सामुदायिक डिजिटल अस्पताल निर्माणका लागि आबस्यक रकमको ब्यबस्था गरिने बताउनु भएको छ । नागरिकहरुलाई गुणस्तरिय स्वास्थ्य सेवाका प्रदान गर्नका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउँदै मुख्यमन्त्री शाहीले कालीकोटमा स्थापना हुँदै गरेको अस्पतालका लागि हाल ७ लाख रकम बिनियोजन गरिएपनि यसलाई सुचारु गर्दा सम्म थप आबस्यक बजेटको ब्यबस्था मिलाइने बताउनु भएको हो ।

अस्पतालका अध्यक्ष तुलाराज सिम्खाडा सहितको टोलीसँगको भेटमा मुख्यमन्त्री शाहीले संरचना बनाउँदा पुरानै तरिका नअपनाउन आग्रह गर्दै भूकम्प प्रतिरोधी भवन निर्माणमा ध्यान दिन र नागरिकलाई सस्तो तथा गुणस्तरिय सेवामा ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो ।

१५ शैयाको डिजिटल अस्पताल निर्माणका लागि रास्कोटको गौंतुकोटको जग्गा ४० बर्षका लागि भाडामा लिई भवन निर्माणको सम्झौता भइसकेको छ भने तत्काल अस्पताल सञ्चालनका लागि आयूर्बेद अस्पतालको भवन पनि भाडामा लगिएको अध्यक्ष सिम्खाडाको भनाइछ । अध्यक्ष सिम्खाडाका अनुसार कार्यसमितिका पदाधिकारीहरुले १÷१ लाख रकम उठाई १० लाख, अभियानका नेतृत्वकर्ता पत्रकार रबि लामिछानेले हाल सम्म ३१ लाख जम्मा गरेको, प्रदेश सरकारबाट ७ लाख, रास्कोट नगरपालिकाबाट २० लाख रकम जम्मा भएको छ भने भवन र उपकरण सहित अस्पताल सञ्चालन गर्दा सम्म ७ करोड, ५० लाखको लगानी लाग्ने अनुमान गरिएको छ ।

दक्षिण यसियाकै नमूना सामुदायिक अस्पताल निर्माण हुने भनिएको अस्पतालमा कागजको प्रयोग नहुने, सबै काम कार्ड बाट गरिने छ । अस्पतालका लागि आबस्यक उपकरणको खरिद प्रक्रिया थालनी भइसकेको जानकारी दिदै अध्यक्ष सिम्खाडाले पौष महिनाको पहिलो साताबाट सेवा सुचारु हुने जानकारी दिनुभयो ।

अस्पताल निर्माण भएसँगै कालीकोट र छिमेकि बाजुरा जिल्लाका स्थानियवासीले समेत सेवा पाउने अपेक्षा गरिएको छ ।