महोत्सवको विरोधमा उत्रिए पछि १ महिनाका लागि महोत्सव स्थगित


१० मंसिर, सुर्खेत । नेपाल चेम्बर अफ कर्मश सुर्खेतको आयोजनामा यहि मंसिर १९ गते देखि सुर्खेतको खुल्ला मैदान शुरु हुन लागेको “कर्णाली महोत्सव २०७५” को विरोध सहित आन्दोलनमा उत्रिएका सुर्खेत उद्योग बाणिज्य संघ अन्तरगतको फेन्सी वस्तुगत समिती तथा अन्य वस्तुगत समितिका व्यापारिहरु र सरोकारवाला बिच सोमबार(आज) पाँच बुँदे सहमति अनुरुप महोत्सव १ महिनाकालागि स्थगित भएको छ ।

प्रमुख जिल्ला अधिकारी, वीरेन्द्रनगर नगरपालिका प्रमुख, उप–प्रमुख, सुरक्षा निकायका प्रमुख , सुर्खेत उद्योग वाणिज्य संघ र नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष सम्मिलित जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमबार (आज) बसेको संयुक्त बैठकले पाँच बुदे सहमती गरेको हो ।

बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर क्षेत्र भित्र विभिन्न पक्षहरुबाट सञ्चालन गर्ने मेला तथा मोहोत्सवका सम्वन्धमा सम्वन्धित स्थानिय तहले कानुन र कार्यविधिहरु निर्माण गर्नु पर्ने । सुर्खेत चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गर्न लागिएको “कर्णाली महोत्सव २०७५” १ महिना स्थगित गर्ने, वीरेन्द्रनगरमा सञ्चालन हुने मेला मोहोत्सवहरु सो नगरपालिका कै कार्यविधी अनुरुप सञ्चालन गरिने लगाएतका विषय सहितको ५ बुँदे सहमती भएको छ ।

वीरेन्द्रनगरमा शुरु गर्न लागिएको महोत्सवको विरोधमा व्यापारीहरुले सोमबार बिहानै देखी बजार बन्द गरेका थिए । सुर्खेत उद्योग बाणिज्य संघले आइतवार ९ गते उद्देश्य विनाको महोत्सव लगाएर स्थानीय व्यापारीहरुलाई मर्कामा पारेको भन्दै प्रेस विज्ञप्ती जारी गरेको थियो ।

आइतबार व्यापारीहरुले महोत्सव स्थल खुलामञ्चमा लगाएको टिनको बार भत्काउँदा प्रहरी र प्रदर्शनकारी विच झडप भएपछि हटाउन नदिएपछि व्यापारीहरुले सोमबार विहानैदेखी बजार बन्द गराएर आन्दोलनमा उत्रिएका थिए ।