एसएलसी नतिजा भोली आउने


८२ वर्षपछि पहिलो पटक यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा नतिजा आउँदै

यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल भोलि सार्वजनिक हुने भएको छ।

यस वर्षको नतिजामा कोही फेल नहुने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक कोही फेल नहुनेगरी परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो।

एसएलसी परीक्षाको सुरुवातको ८२ वर्षपछि पहिलो पटक यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा नतिजा ग्रेडिङ प्रणालीबाट गर्दैछ।

यस्तै ग्रेस माक्र्स दिने ब्यवस्था पनि हटाउने भएको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार एसएलसीको नतिजा अक्षरांकन पद्धतिमा प्रकाशित हुने भएकाले विद्यार्थीहरु उत्तीर्ण वा अनुत्तीर्ण हुँदैनन्। त्यसैले ग्रेस माक्र्सको व्यवस्था हटाइएको हो।

यसअघि नतिजा प्रकाशनको समयमा एसएलसी परीक्षा समिति बोर्ड बैठकले निर्णय गरी बढीमा दुई विषयमा ५ नम्बर ग्रेस माक्र्स थपेर विद्यार्थीलाई पास गराउँदै आएको थियो।

भोलि प्रकाशन हुने नतिजामा ७ तहको अक्षरांकन प्रणालीबाट हुनेछ। त्यसका लागि टर्निङ पोइन्ट २० देखि ९० प्रतिशतसम्म हुन्छ। गत वर्षसम्म एसएलसीको उत्तीर्ण प्वाइन्ट ३२ थियो।

यस्तै बढीमा दुई विषयमा डि र ई प्राप्त गर्ने परीक्षार्थीले सोही वर्ष ग्रेड वृद्धिको लागि ‘ग्रेड वृद्धि’ परीक्षा दिन सक्नेछन्।

विद्यार्थीले एसएलसीको नतिजापछि प्राप्त गरेको एसएलसी ग्रेड सिटमा बढीमा दुई विषयमा डि र ई अक्षरांकन छ भने उसले एक पटकलाई मौकाको रुपमा ग्रेड बृद्धि गर्न ग्रेडबृद्धि परीक्षा दिन सक्ने ब्यवस्था पनिकाले गरेको हो।

यो वर्षको एसएसली परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी छन्।

साभारः सेतोपाटी