सामाजिक सञ्जालमा #Arrest_KP_Oli ह्यासट्याग अभियान शुरु:

तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि कारबाहीको माग


काठमाडौं: गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा तत्कालीन सरकारले गरेको दमनको विरोधमा जेन्जी अभियन्ताहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जाल फेसबुकमा #Arrest_KP_Oli ह्यासट्याग अभियान सुरु गरेका छन् । आन्दोलनका क्रममा निहत्था विद्यार्थीमाथि गोली चलाइएको भन्दै उनीहरूले ओलीमाथि कारबाहीको माग गरेका हुन् ।

जेन्जीका अगुवा रक्षा बमले आफ्नो फेसबुक पोस्टमा, “अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ । मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, Sep 8 को आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।” बमले आफ्नो अर्को स्टाटसमा “हरेक गोलीको हिसाब हुनेछ” भन्दै थप आक्रोश व्यक्त गर्नुभएको छ ।

यो अभियानलाई जेन्जी अभियन्ता र शुभचिन्तकहरूले व्यापक समर्थन गरेका छन् । उनीहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै सामाजिक सञ्जालमा लेखिरहेका छन् ।