विकास र समृद्धिको लागि सुशासन अनिवार्य: मुख्यमन्त्री शाही


१८ मंसीर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुशासन कायम नगरी विकास र समृद्धि हाँसिल नहुने बताउनुभएको छ । महालेखापरिक्षकको कार्यालयले मंगलवार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको लेखापरिक्षण सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको लागि सुशासन अनिवार्य रहेको बताउनुभयो ।

राज्य आर्थिक रुपमा पारदर्शी नभएमा अराजकता र भ्रष्ट्राचार हावी हुने र त्यसले विकास र समृद्धिको वाटोमा अवरोध खडा गर्ने उहाँको भनाई छ । प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध भएको बताउदै मुख्यमन्त्री शाहीले महालेखापरिक्षकको कार्यसम्पादन प्रभावकारी हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

राज्यका सवै निकायहरुको समन्वय र प्रभावकारी कार्यसम्पादनवाट मात्रै मुलुकमा सुशासन प्रवर्धन, दिगो विकास र आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न सकिने बताउदै मुख्यमन्त्री शाहीले त्यसका लागि हातेमाले गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहीले मुलुकमा तिन तहका सरकार र संवैधानिक निकाय विच समन्वयमा कमी हुन नहुने वताउदै आआफना कार्यशैलीमा सुधार आवश्यक रहेको वताउनुभयो ।