प्रदेशको पहिलो आधार भनेको नै अर्गानिक कृषिः मन्त्री के.सी.


१९, बैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार अर्गानिक कृषि भएको बताउनु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको वुलवुले कृषि वजार ब्यवस्थापन समितिको भवनको औपचारिक उद्घाटन गर्नुहुदै मन्त्री केसीले प्रदेशको पहिलो आधार भनेको नै अर्गानिक कृषि भएको बताउनुभएको हो । कार्यक्रममा मन्त्री केसीले अर्गानिक कृषिका माध्यमबाट कर्णालीको गरिवी अन्त्य गरिने बताउनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष देखि प्रदेशका गरिव किसानको जीवनस्तर माथी उठने कार्यक्रम संचालन गरिने बताउनुभयो । कृषि मन्त्री समेत रहनुभएका केसीले वास्तविक कृषकको सुझाव लिएर प्रदेशको कृषि निति वनाउने र त्यसैको आधारमा वजेट तथा कार्यक्रम निमार्ण हुने विश्वास दिलाउनुभयो ।

वास्तविक किसानहरुको सुझाववाट निमार्ण गरिएको नितिले गरिव खोज्दै जाने कार्यक्रम निमार्णमा मद्दत गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

आगामी दिनमा गरिव किसानले प्राप्त गर्न सक्ने अनुदानको कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । सुचना केन्द्रको विकास गर्नुपर्छ मन्त्री केसीले कर्णालीको स्थानीय उत्पादनको बारेमा जानकारी लिन सुचना केन्द्रको विकास गर्नुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेशको भुगोल सुहाउदो उत्पादनको जानकारी लिने खालको सुचना केन्द्र वनाउनुपर्ने उहाँको धारणा थियो । कर्णालीमा अव स्थानीय उत्पादनको वृद्धि गर्ने योजना जरुरी भएको उहाले औल्याउनुभयो । “८७ प्रतिशत किसान भएको प्रदेशले स्थानीय उत्पादनमा वृद्धि गरि आयस्तर वृद्धि गर्नुपर्छ” उहाँले भन्नुभयो । किसानले उत्पादन गरेका वस्तुको वजारीकरण प्रदेश सरकारले गर्ने मन्त्री केसीले बताउनुभयो ।

“वजारीकरणले उत्पादनको माग बढ्छ, उत्पादनको मागले किसानको आयश्रोत बढ्छ, त्यसैले सरकारले बजारीकरणको काम संचालन गर्नुपर्छ” उहाँले भन्नुभयो । सबैको साझा प्रयासले कर्णालीको स्थानीय उत्पादनलाई ब्राण्ड दिएर बजारीकरणमा लिनुपर्ने मन्त्रीकेसीको भनाई छ ।

कार्यक्रममा बजार ब्यवस्थापन समितिका अध्यक्ष हर्कवहादुर खत्रीले किसानले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरण गर्ने वातावरण निमार्ण गरिदिन मन्त्री केसीसंग आग्रह गर्नुभयो । स्थानीय तथा प्रदेश सरकारले कृषिमा आकर्षण बढ्ने खालका कार्यक्रम संचालन गर्न सके मात्रै वास्तविक किसानको जिवनस्तर माथी उठ्ने भन्दै किसानमैत्री कार्यक्रम संचालन गर्नुपर्ने खत्रीले बताउनुभयो ।

अध्यक्ष खत्रीले कर्णालीको भुगोल अनुसारको उत्पादनको पकेट निमार्ण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कोल्ड स्टोर बनाउन माग सुर्खेतका कृषकहरुले प्रदेश राजधानी भएको वीरेन्द्रनगरमा सुविधा सम्पन्न कोल्डस्टोर निमार्ण गर्न माग गरेका छन । वीरेन्द्रनगरमा कोल्ड स्टोरको ब्यवस्था भए केही समय कर्णालीकै स्थानीय उत्पादन खाना पाइने वीरेन्द्रनगरका पर्वल शाहीले बताउनुभयो ।

“कोल्ड स्टोर भए जुम्लाका स्याउ र दैलेख तथा जाजरकोटका सुन्तला केही समय खाना पाइन्थ्यो, अहिले कोल्ड स्टोर छैन छिटटै विग्रिन्छ अनि बाहिरको वस्तु खानुपर्ने वाध्यता छ ”उहाँले भन्नुभयो ।

कर्णालीको स्थानीय उत्पादनलाई जोगाइ राख्न समस्या भएकाले बाहिर बाट आयात गर्नुपर्ने वाध्यता भएको उहाँले बताउनुभयो । कर्णालीमा स्थानीय उत्पादन वृद्धी गरि स्टोरिङग गर्नका लागी पनि कोल्ड स्टोरको आवश्यकता भएको शाहीको भनाई छ ।