
१८ श्रावण, सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक ट्राफिक आइल्याण्डको निर्माण गरिएको छ ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भरखर स्थापित भएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बसपार्क अगाडीको चोकमा ट्राफिक आइल्याण्डको निर्माण गरेको हो ।
संस्थाले आफ्नो सामाजिक उत्तरदासयित्व अन्तरगत रहेर करिब ३ लाख रुपैयाको लागतमा ट्राफिक आइल्याण्ड र डिभाइडरको निर्माण गरेको शिवशिखर सहकारी सुर्खेत शाखाका प्रवन्धक चन्दन थापामगरले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थानमा सहजताकालागि आइल्याण्डको निर्माण गरि आज हस्तान्तरण गरेका हौं ।”
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक उपेन्द्र प्रसाद आचार्यले हामीले केही संस्थाहरुलाई आइल्याण्ड बनाउन प्रस्ताव राखेका थियो जसअनुरुप शिवशिखरले स्थानीय श्रोतसाधनको प्रयोग गरेर आइल्याण्ड बनाइदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ “यस्ता आइल्याण्ड प्रदेश राजधानीको व्यस्त रहने विभिन्न चोकमा आवश्यक रहेको छ त्यस्कालागि इच्छुक संघसंस्था हामी सहयोगकालागि आग्रह गर्दछौं ।”
जो कोहीले ट्राफिक प्रहरी चोकको वीचमा देख्न चाहन्छ तर प्रदेश राजधानीमा आइल्याण्ड नहुँदा ट्राफिक प्रहरी वीचमा रहन नसक्ने भएकोले अत्याधिक व्यस्त रहने चोकचोकमा आइल्याण्डको नितान्त आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख आचार्यले बताउनुभयो ।



Prawash Kumar Shakya । १८ श्रावण २०७८, सोमबार १८:५७ बजे