सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन


मंसिर २७, सुर्खेत ।

हिउँदको सुरुवातसंगै मौषम चिसिँदै गए पनि सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनले भने व्यापारीहरुलाई चुनावी सरगर्मी निकै बढेको छ । सुर्खेतका उद्योगी व्यवसायीहरु नयाँ नेतृत्व चयनका लागि चुनावी मैदानमा होमिए पछि सबैको ध्यान त्यतातिर मोडिएको छ । धनबहादुर रावत र प्रकाश उप्रेतीले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रचारमा होमिएका छन् । व्यवसायिक हकहित र सुर्खेतको बिकासमा नीति क्षेत्रबाट पहल थाल्ने दुवै समूहको प्रतिबद्धता छ ।

बुधबार दुबै समूहले उम्मेदवारी दर्ता गरेपछि चुनावी प्रचार प्रसारलाई तीब्र बनाएका छन् । चुनाव कसरी जित्ने भन्ने रणनीतिमा दुबै समूहका सल्लाहकारहरु योजना बनाईरहेका छन् भने उम्मेद्वारहरु मतदाता रिझाउन ब्यस्त देखिन्छन् । चुनावी तामझाम हेर्दा लाग्छ यो कुनै पनि संसदीय चुनाव भन्दा कम छैन । दुवै समूहले चुनावबाट आफ्नो नेतृत्वको प्यानल विजयी हात पार्ने दावी गर्न थालेका छन् ।
संघको आगामी नेतृत्वका लागि चुनावी मैदानमा होमिएका उप्रेती वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने रावत उपाध्यक्ष छन् । उप्रेती र रावत दुवै कांग्रेसी व्यवसायी हुन् । सुर्खेत उद्योग वाणिज्य संघमा नेपाली काँग्रेस निकट व्यवसायीहरुको बाहुल्यता छ । संघको नेतृत्वमा २०३८ साल यता काँग्रेस निकट व्यापारीबाहिर नेतृत्व गएको रेकर्ड बिरलै छ ।

रावत उत्साहित
सुर्खेत उद्योग वाणिजय संघको आगामी अध्यक्षका लागि बुधबार उम्मेद्वारी दर्ता गराए मतदाता माझ पुगेका धनबहादुर रावत उत्साहित देखिएका छन् । ‘मतदाताको उत्साह र उहाँहरुको ऊर्जाले मलाई थप हौसला मिलेको छ’ रावतले भने, ‘संघका वर्तमान कार्यसमितिका १७ वटा बस्तुगत समिति मध्ये १३ वटा बस्तुगत समितिले मलाई समर्थन जनाई सक्नु भएको छ ।’ नेपाली काँग्रेसको संस्थागत समर्थन पाएका रावत चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।नेपाली काँग्रेसको संस्थागत समर्थनसंगै सुर्खेतका प्रतिष्ठित व्यापारी टेकबहादुर भण्डारीको साथ पाए पछि रावत उत्साह थपिएको छ ।

किन उत्साहित छन् रावत ?
सुर्खेत उद्योग वाणिज्य संघमा एक हजार ८ सय ८४ जना मतदाता छन् । कूल मतदाताको ८० प्रतिशत भन्दा बढी संख्या काँग्रेस निकट व्यवसायीको छ । काँग्रेसको संस्थागत समर्थनले रावतलाई मतदाता माझ जान सजिलो भएको छ भने पुराना र सुर्खेतका प्रतिष्ठित व्यापारीहरुको समर्थनले मतदातालाई विश्वस्त बनाएको छ । प्रकाश उप्रेती प्यानललाई समर्थन जनाएका नेकपा समर्थक व्यवसायीहरुलाई उप्रेती समूहले मिलाउन नसकेको फाइदा पनि रावत समूहलाई हुने अडथ्कल गरिएको छ ।संघका केही पूर्व अध्यक्षहरुले उप्रती समूहहरुलाई समर्थन गरेको भनिए पनि उनीहरु नाममात्रका ‘हेवी वेट’ हुन् । नेकपा निकट व्यवसायीहरुको मतपनि विभाजन हुने भए पछि रावत समूह पुरै प्यानल जित्नेमा ढुक्क रहेको छ ।