२९ बैशाख, वीरगंज-नेपालका आयातकर्ता व्यपारी/उद्योगीले बर्षौंदेखी गर्दै आएको कोलकता बन्दरगाहको बिकल्पको खोजी पूरा भएको छ। कोलकतादेखी १ सय ७ किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक रेक अर्थात ८० कन्टेनरको एउटा खेप वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आइपुगेको छ। सन् १९५० को सन्धिअनुसार भारतले प्रयोग गर्न दिएको एकमात्र कोलकता बन्दरगाहमा मात्रै आश्रीत नेपालका लागि तेस्रो मेलुकको व्यापारमा सघाउ हुनेगरि ६६ वर्षपछि अर्को बन्दरगाह प्रयोगमा आएको छ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयकाअनुसार हल्दियाबाट कन्टेनर बोकेको रेल गत आइतबार यहाँ आइपुगेको हो। ‘आयातकर्ता नेपाली व्यापारी, व्यावसायीका लागि यो सुखद क्षण हो,’ वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले नागरिकन्युजसँग भने, ‘नेपालको ब्यपारमा एउटा नयाँ अध्याय सुरु भएको भन्न सकिन्छ। यसको खबरले एउटा तरंग पैदा गर्नेछ।’
हल्दिया बन्दरगाह प्रयोगको लागि नेपाल र भारतबीच सैद्धान्तिक सहमतिपछि सरकारी तहमा अनेक चरणको औपचारिकता पूरा गर्न चार बर्ष लाग्यो। यो बन्दरगाह नाका नेपाली व्यपारको लागि भारतले खुला गरेपनि प्रयोगमा आउन सकेको थिएन। प्रयोगमा ल्याउनका लागि कम्तिमा एक खेपको ‘रेक’को लागि चाहिने ८० देखी ९० वटा कन्टेनर संख्या पुग्नु पर्ने थियो र नयाँ ठाउँमा प्रक्रिया मिलाउनु पर्ने थियो।
‘नेपालको लागि कोलकता बाहेक अब एउटा थप विकल्प भयो, कोलकतामा जाम भएको बेला पहिले उपाय थिएन, अब छ,’ सुक्खाबन्दरगाह संचालन गर्ने कम्पनी हिमालय टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले भने, ‘नजिकै १ सय ७ किलोमिटरको दुरीमा रहेको हल्दिया भनेको कोलकताभन्दा ठूलो बन्दरगाह पनि हो, यहाँ धेरै कुरा भिन्न पनि छ।’ – कोलकताजस्तै हल्दिया पनि नदीमा आधारित जलाधारमा बनेको बन्दरगाह भए पनि त्यहाँ तुलतात्मक रुपमा ठूला जहाज आउन सक्ने उनले बताए। कोलकताको ‘डक’ (जहाज उभिने घाट) ६ मटिर मात्र छ भने हल्दियामा साढे ८ मिटर छ। कोलकतामा ३ सय कन्टेनर बोक्ने जहाज मात्र आउन सक्छ भने हल्दियामा ५ सय कन्टेनर बोक्ने जहाज आउने गरेका छन्। व्यपारीहरुका अनुसार ठूला जहाजमा ल्याइने कार्गो सानोकोभन्दा सस्तो पर्ने गरेको छ। मुख्यरुपमा कन्टेनरको समानभन्दा बल्क कार्गो अर्थात फलाम र बोराबन्द सामानको ब्यपारको लागि बढी प्रयोगमा रहेको हल्दिया बन्दरगाहको कोलकताभन्दा क्षेत्रफल र यार्ड ठूलो छ।
नयाँ बन्दरगाहको प्रयोग सुरु भएपछि तेस्रो मुलुकको व्यपारमा रहेको जटिलता एक हदसम्म कम हुने व्यपारीहरुको बुझाई छ।
साभारः नागरिक अनलाइन
Prawash Kumar Shakya । २९ बैशाख २०७३, बुधबार १५:५५ बजे