
७ पौष, सुर्खेत । कर्णाली प्रदेशका कृषि, भुमी ब्यवस्था तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली प्रदेशका कृषकहरुले आत्मविश्वास राखेर अघि बढे कृषि क्रान्ति सम्भव भएको बताउनुभएको छ ।
भेरीगंगा नगरपालिका-२, लेकपराजुल सुर्खेतमा रहेको काँक्रेविहार लाइभस्टक एग्रो र्फम एण्ड रिर्सच सेन्टरको शनिबार अनुगमन गर्दै मन्त्री केसीले एग्रो र्फमका सञ्चालकले झै सामाजिक विकासकालागि कलम मात्रै नचलाएर कृषि पेशा गरि स्वावलम्बी बन्नु पर्ने सुझाव दिनुभयो ।
कर्णाली प्रदेश कृषिबाट नै आत्मनिर्भर बन्न सक्ने बताउदै उहाँले ‘समृद्ध कर्णाली र सुखी कर्णाली भन्ने नारालाई सफल बनाउन कृषिबाट नै सकिने बताउनुभयो ।
‘कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन सजिलै छ । प्रदेशमा असीमित सम्भावना भएपनि यसको प्रचार प्रसार र ब्यवस्थापन गर्न न त प्रदेश सरकारले नै सकेको छ, नत संघीय सरकारले गर्न सकेको छ । प्रदेश सरकारले अर्गानिक प्रदेश बनाउने नारा लगाइरहँदा प्रदेशमा विषादीयुक्त पदार्थहरु भित्रिरहेको देखिन्छ, मन्त्री केसीले बताउनुभयो ।
मन्त्री केसीले राजनीतिकर्मी, पत्रकार सबैले ब्यवसाय गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो ‘हामीलाई कर्णाली प्रदेशमा नमुना काम गर्ने नीजि तथा सहकारी संस्थाहरु चाहिएको छ ।’
पत्रकारहरु सक्नेभए यो ठाउँमा रिसोर्ट खोल्नुहोस, उत्पादनमुखी काममा लाग्नुहोस, प्रदेश सरकार सहयोग गर्न तयार छ । ‘अव हामी जैविक मल प्रयोग गर्न कृषकलाई सुझाव दिन्छौ र कर्णालीलाई अर्गानिक प्रदेश बनाउछौ ।’ मन्त्री केसीले परिणाममुखी कामलाई प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।

यस्तै फर्म सञ्चालक चिन्तामणि शर्माले आफुले सञ्चालन गरेको फर्मको अनुगमन गर्नकालागि कर्णाली प्रदेशका कृषि, भूमी ब्यवस्था तथा सहकारी मन्त्री बिमला केसी आउनुभएकोमा आभार सहित धन्यबाद ब्यक्त गर्नुभयो ।
सञ्चालक शर्माले भन्नुभयो, ‘मैले अहिलेनै फाइदालाई हेरेर मात्रै भन्दा पनि यहाँको स्थानीयबासीहरुको जीवनस्तर कसरी उकास्न सकिन्छ र स्थानीयहरुलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्देश्यले यो ब्यवसाय सञ्चालन गरेको हुँ ।’ यसले स्थानीयहरुले केही कुरा सिक्न सक्ने भएकोले जोखिम मोलेर बाख्रा पालन ब्यवसाय गर्न आइपुगेको हो ।
कार्यक्रममा सिविए सुर्खेतका अध्यक्ष एवं पशु सेवा कार्यालय सुर्खेतका प्राविधिक मोहन गिरीले ब्यवसाय गर्ने किसानहरुकालागि विभिन्न कार्यक्रमहरु रहेको बताउदै यसको फाइदा लिन आग्रह गर्नुभयो । सुर्खेतकालागि विभिन्न जातका बाख्राहरुको सम्भावना रहेको बताउदै कृषकहरुको समस्या बुझ्न गाउँगाउँमा प्राविधिकहरु खटिरहेको जानकारी गराउनुभयो ।
यस्तै पशु सेवा कार्यालय चौकुने गाउँपालिकाका प्रमुख भोजराज चपाइले यस क्षेत्रमा तीन किसिमको बाख्रा पालन गर्न सकिने सुझाव दिनुभयो ।
हाल फर्ममा करिब १ सय भन्दा बढी बोयर र स्थानीय खरि जातका बाख्राहरु रहेका छन । करिब १ करोड ५० लाखको लगानीमा सञ्चालनमा रहेको फर्मले छिट्टै बाख्रा अनुसन्धान केन्द्रको रुपमा यसलाइ विकास गर्न लागिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

फर्म निरिक्षण पछि मन्त्री केसीले भेरीगंगा २ मैनटारका स्थानीय बासिन्दाहरुसंग भेट गर्नुभएको थियो । पैदलै गाउँघर र बस्ती डुल्दै हिड्नु भएकी मन्त्री केसीलाई स्थानीयहरुले ठाउँठाउँमा स्वागत गरेका थिए ।
स्थानीयहरुले कृषि पेशा गर्नकालागि प्रदेश सरकार तथा स्थानीय सरकारले सहयोग नगरेको गुनासो गर्दै भेरीगंगा नगरपालिका-२ लेकपराजुल कृषि तथा तरकारी खेतीकालागि उपयुक्त क्षेत्र भएपनि सिंचाइ तथा बजार ब्यबस्थापनकोलागि लागि समस्या भएको जानकारी गराउदै यी समस्याहरु समाधान गरिदिन मन्त्री केसी समक्ष माग गरेका थिए ।



Milan Shrestha । ७ पुष २०७५, शनिबार २१:४९ बजे