सहकारी लेखा व्यवस्थापन तालिम


सुर्खेत, ६ भदौ । 00000
सुन्दर नेपाल संस्था अन्तर्गत सुर्खेतमा संचालित कृषि स्वास्थ्य तथा वैकल्पीक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम (पहल)को आयोजनामा सहकारी लेखा व्यवस्थापन सम्बन्धी ६ दिने तालिम सोमबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
परियोजना लागू गाविसका सहकारी संस्थामा आबद्ध व्यवस्थापकहरुलाई सहकारीलाई उचित व्यवस्थापनका साथ अगाडि बढाउन मद्दत पु¥याउने उद्देश्यले उक्त तालिम संचालन गरिएको हो । तालिमको उद्घाटन कार्यक्रममा पहल परियोजनाका टिमलिडर इशुशंकर श्रेष्ठले अध्ययन गरेर जानेका शैद्धान्तिक कुराहरुलाई व्यवहारमा लागू गर्नका लागि तालिमको आवश्यक्ता पर्ने बताए । उनले तालिमका सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई सहकारी संस्थाहरुमा व्यवहारिक रुपमा लागू गर्नुपर्नेमा जोड दिए । यस्तै उनले पहल परियोजना अन्तर्गत अन्य क्षेत्रमा लागू भएका कार्यक्रमहरुका बारेमा समेत जानकारी दिए ।
कार्यक्रमका मुख्य प्रशिक्षक दामोदर अधिकारीले सहकारी व्यवस्थापनको मूल्य मान्यतालाई सहकारी संचालक र सरोकारवाला निकायहरुले समेत लागू गर्न नसकेको बताए । सही रुपमा सहकारीका मूल्य मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढे गाउँमा आफै पुजीको सिर्जना गर्न सकिने उनको भनाइ थियो । ‘सहकारी स्वावलम्बनको प्रयास हो, ग्रामिण क्षेत्रमा पूँजीको सिर्जना गर्छ,’ उनले भने, ‘त्यसैले सहकारीलाई व्यवस्थीत गरी चलाउन सके, गाउँमै रोजगारी सिर्जाना गरी बेरोजगारी समस्या अन्त्य गर्न सकिन्छ ।’
कार्यक्रमका सभापति एवम् सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले सहकारी संस्थाहरुलाई व्यवस्थित गरी लक्ष्य प्राप्तीका लागि समय–समयमा आवश्यकताअनुसार तालिमको खाँचो पर्ने बताए । उनले गाउँमा व्याप्त बेरोजगारी र गरिबीको समस्याकरण गर्नका लागि सबैभन्दा सजिलो माध्यमनै सहकारी अभियान भएको उल्लेख गरे । यसअघि पनि संस्थाले दुई पटक सहकारी व्यवस्थापन सम्बन्धी तालिम दिइसकेको जानकारी गराउँदै तालिममा सिकेका कुराले सहकारीलाई समृद्धितर्फ लैजाने विश्वास व्यक्त गरे ।
तालिम उद्घाटन कार्यक्रममा पहल परियोजनाका कार्यक्रम संयोजक भिमराज बास्तोलाले परियोजना लागू भएका स्थान र कार्यक्रमको बारेमा जानकारी दिएका थिए । यस्तै बैकल्पिक जीविकोपार्जन अधिकृत मिलन श्रेष्ठले तालिमको उद्देश्यका बारेमा स्पष्ट पारेका थिए ।