
पौष १०, कालीकोट ।
आगलागीले नष्ट भएको पलाँता गाउँपालिका १ को खाडाबस्ती पुननिर्माण गरिने भएकोछ । आइतबार राती आगलागीबाट ८७ घर जेलपछि राहत सामाग्री लिएर खाडा पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाडाबस्ती पुनः निर्माण गर्ने बताएका हुन् ।
आगो नियन्त्रण गर्न खोज्दा घाइते भएकाहरु प्राथमिक उपचारपछि घरपर्किएको स्वास्थ्य संयोजक हिमाल संञ्यालले बताए । स्थानीय शिक्षक नवीन प्रसाद न्यौपानेको घरबाट सुरु भएको आगोले खरका छाना जल्दा आगलागी भएको हो । मुलबाटो नजिकै रहेकाले बाटोमा हिड्ने बटुवाले चुरोट जलाएर ठुटा फालेकाले आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
क्षेतीको अवस्थाबारे बुझ्न नेपाली सेनाको हेलिकप्टरमा मुख्यमन्त्री सहित प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, राष्टिय सभा सदस्य जीवन बुढा, प्रदेश सभा सदस्य कुर्मराज शाही, नेकपाका नेता नगेन्द्र शाही नेस्नल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, पचालझरना गाउँपालिका अध्यक्ष खडक सेजुवाल घटना स्थल पुगेका थिए ।
नेपाली सेनाको हेलीकोप्टरले सुर्खेत र कालीकोट सदरमुकाम मान्मबाट राहतका सामाग्रीहरु घटना स्थलमा पुर्याएको छ । घरहरु थोरै भएपनि एकै घरका कोठाहरुमा भाइहरु भिन्नभई अलग अलग बस्ने गरेकाले नष्ट भएका घरधुरी संख्या बढेको हो ।
आज पनि थपराहत सामाग्री सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टरले ल्याउने भएको छ । राहत संकलनका लागि बिभिन्न संघ संगठन, प्रदेश तथा केन्द्र सरकार लागि परेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । खाडाबस्ती पहिले पनि दुई पटक जलेर नस्ट भएको पलाँता १ का वडा अध्यक्ष मानबहादर भण्डारीले बताए । प्रतीघर २० हजार नगद र घर पुननिर्माण गर्ने प्रतिबद्धता सहित मुख्यमन्त्री खाडाबाट फर्किएका छन् ।
किर्डाक नेपाल मार्फत मिसन ईष्टले तत्काल ३ लाख राहत उपलब्ध गराएको छ । पलाँता कर्मचारी मिलन केन्द्रले १ लाख, ७८ हजार, ५ सय ५५ रुपैया राहत रकम जम्मा गरेको मिलन केन्द्रका अध्यक्ष खिमलाल पुनले बताए । आगो नियन्त्रणका लागि खटीने नेपाल प्रहरी, नेपाली सेना र पलाँता विकास निर्माण कार्य दल लगायत सबैलाइ मुख्यमन्त्रीले बधाई दिएका छन् । आवश्यक राहत तथा विपद पछिको उद्धारमा जुट्न गाउँपालिकाले सबैलाइ आग्रह गरेको छ ।




तस्बिर मनिराज पाण्डे



Milan Shrestha । १० पुष २०७५, मंगलवार ०९:४१ बजे