सुर्खेतमा होटल वर्गीकरण गरिदै


१७ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतका होटल तथा रेष्टुरा क्षेत्रलाई स्वच्छ र गुणस्तर हेरी वर्गीकरण गरिने भएको । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आज (मंगलबार) वीरेन्द्रनगरमा खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धि निर्देशिका २०७४ बारे व्यसायीहरुलाई सचेतना कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

सर्वसाधारण जाने यस्ता होटल, रेष्टुराँले गुणस्तर र स्वच्छतामा हेलचेक्रयाइँ गर्न थालेपछि त्यसलाई नियमन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रणले बर्गीकरणको गर्न लागेको हो । डिभिजनले लोगो प्रमाणपत्रका आधारमा यस्ता खाद्य व्यवसायलाई नियमन गर्न लागेको बताएको छ । होटेल, रेष्टुराँ, भोजनालय, मिठाई पसल, चिया पसल, क्याफे, क्याटरिङ, होष्टेल एवम् क्यान्टिन र सोही प्रकृतिका अन्य खाद्य व्यवसायहरुलाई स्तर छुट्याएर उपभोक्तामैत्री रुपमा बर्गीकरण गर्न लागिएको डिभिजन निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिनुभयो ।

निमित्त प्रमुख थापाले खाद्य स्वच्छताको आधारमा होटल रेटुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ स्वीकृत भएसँगै अब कार्यान्वयनका तहमा लैजाने बताउनुभयो । ‘अब स्थानीय तहमा समेत अन्तक्रिर्या गरेर कार्यान्वयनमा जानेछौं,’ उहाँले भन्नुभयो । निर्देशिकाका सम्बन्धमा व्यापक जनचेतना आवश्यक रहेको उहाँले बताउनुभयो । यसका लागि स्थानीय तहमा विभिन्न समिति गठन गर्ने र प्राविधिक जनशक्ति तयार गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

निर्देशिकामा होटल रेष्टुराँको बर्गीकरणका लागि ५० वटा प्रश्नावली उल्लेख छ । उक्त प्रश्नावली र तोकिएको शर्तअनुसार बढी अंक ल्याउने व्यवसायले अतिउत्तम, उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्र लोगो पाउनेछन् ।

अतिउत्तम श्रेणीको होटेल रेष्टुराँले ३ वटा तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टीकर पाउनेछ । यो लोगोे पाउन होटेल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ । त्यस्तै, उत्तम श्रेणीको खाद्य व्यसायले २ वटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टीकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दा माथि ८९ सम्मको अंक प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक) को लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटेल रेष्टुराँले १ तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् । यो श्रेणीलाई विभागले ‘मध्यम’ उल्लेख गरेर मन्त्रालय पठाए पनि मन्त्रालयले यसलाई ‘सन्तोषजनक’ श्रेणीमा राखेर स्वीकृत गरेको छ । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ । विभागले यो श्रेणीलाई सन्तोषजनक स्तरमा राखेपनि मन्त्रालयबाट स्वीकृत हुँदा यसलाई ‘सामान्य’ श्रेणीमा राखेर स्वीकृत गरिएको छ ।

व्यवसायीले लोगोको प्रकृति बमोजिम प्रतिवद्धता जाहेर गरेरमात्र स्तरीकरण लोगो पाउनेछन् । लोगो प्रमाणपत्रको अवधि १ वर्षको हुने निर्देशिकामा उल्लेख छ । प्रमाणपत्र पाइसकेपछि पनि स्तरअनुसारको खाद्य स्वच्छता कायम नगर्ने व्यवसायीको लोगो प्रमाणपत्र जफत, परिवर्तन वा फिर्ता हुनसक्ने व्यवस्था छ । लोगो प्राप्त गर्ने होेटल रेष्टुराँको पुनः निरीक्षण पनि हुनेछ । जसमा अतिउत्तम प्रकृतिको खाद्य व्यवसायका हकमा एक वर्ष र त्यसभन्दा तल्लो श्रेणीकाको हकमा प्रत्येक ६ महिनामा पुनः निरीक्षण गर्ने व्यवस्था निर्देशिकामा छ ।

अनुगमन र निरीक्षणका क्रममा कैफियत देखिए १ महिना सुधारको मौका दिने र उक्त अवधिमा पनि सुधार भएको नपाइए श्रेणीअनुसार १ तह घटुवा गर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । लोगो प्रमाणपत्र पाउने खाद्य व्यवसायीले म्याद सकिएको ३ महिनाभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकामा होटल रेष्टुराँको स्तरीकरण गर्दा बाहिरी परिधिको सरसफाईको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्य वस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादीको प्रयोग र भण्डारण र ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको कसीमा राखिने उल्लेख छ । त्यस्तै, पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपहरुको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्था लगायत पनि मूल्यांकन मापदण्डमा उल्लेख छ । त्यस्तै, धुम्रपान, थुक्ने निषेध गरिए नगरिएको, कर्मचारीको व्यक्तिगत सरसफाई, आवश्यक तालिम लगायत मापदण्डका आधारमा लोगो प्रदान गरिने निर्देशिकामा उल्लेख छ ।

सचेतना कार्यक्रममा खाद्य स्वच्छताको आधारमा होटेल तथा रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ को बारेमा समेत प्रशिक्षण गराईएको थियो । त्यस्तै खाद्य वस्तुहरुको स्वच्छता, गुणस्तर र भण्डार गर्ने तरिका लगायतका बारेमा जानकारी गरिएको थापाले बताउनुभयो ।

सचेतना कार्यक्रममा वीरेन्द्रेनगरका होटल, रेष्टुरेन्ट, मिठाई तथा चिया नास्ता पसल सञ्चालकहरुसँगै होटल अर्गनाईजेशन सुर्खेत शाखाका अध्यक्ष गोरखबहादुर रावत, निवर्तमान अध्यक्ष तर्कबहादुर शाही, होटल व्यवसायी निरान्जन केसीलगायतको सहभागिता रहेको थियो ।