सुर्खेत विमानस्थल धावनमार्ग विस्तार जग्गाको लगत सङ्कलन रोकियो


१४ पौष, सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि अधिग्रहण गरिने जग्गाको प्रारम्भिक लगत सङ्कलनको काम स्थानीयले विरोध गरेपछि रोक्का भएको छ । सुर्खेत विमानस्थलले प्रभावितले केही समय काम रोक्का गरी वार्ताको वातावरण बनाइदिन ज्ञापनपत्र पेस गरेपछि आइतबारदेखि प्रारम्भिक लगत सङ्कलनको काम रोकिएको जनाएको छ ।
गत शुक्रबार सुर्खेत नागरिक उड्डयन कार्यालयले धावनमार्ग विस्तारका लागि अधिग्रहण गरिने चारैतर्फको जग्गाको लगत सङ्कलन लिने भएकाले १५ दिनसम्म नयाँ संरचना बनाउन, बिक्रीवितरण गर्न, हक हस्तान्तरणका लागि सिफारिस नगर्न सूचना जारी गरेको थियो । जग्गा अधिग्रहण हुने स्थानका प्रभावितहरूले नागरिक सरोकार सङ्घर्ष समिति गठन गरी लगत सङ्कलनको काम रोकी वार्ताको वातावरण बनाइदिन ज्ञापनपत्र पेस गरेको थियो ।
कार्यालय प्रमुख उमेशकुमार पन्थीले लगत सङ्कलनको काम सुरु हुनैलाग्दा प्रभावितले तत्काल काम रोकी वार्ताको वातावरण बनाइदिन माग गरेको हुँदा हाललाई काम रोकिएको बताउनुभयो । उहाँका अनुसार रोकिएको काम कहिलेदेखि पुनः सञ्चालन हुने हो त्यसको यकिन छैन । उहाँले थालिएको लगत सङ्कलनको काम नरोकिएको भए १५ दिनभित्र धावनमार्ग विस्तारका लागि के कति जग्गा आवश्यक पर्छ त्यो यकिन हुन्थ्यो भन्नुभयो ।
वीरेन्द्रनगर नगरपालिका १० र १२ मा रहेको विमानस्थल धावनमार्गका लागि सङ्घीय सरकारले ३० बिघा जग्गा अधिग्रहण गर्न अनुमति दिएको छ । सङ्घ र प्रदेश सरकारको आधा आधा लगानीमा हालको धावनमार्गमा तीन सय मिटर थप्ने बताइएको छ । जसअनुसार सुर्खेत विमानस्थलले उत्तरतर्फ छ सय मिटर, दक्षिणतर्फ चार सय मिटर, पूर्वतर्फ २५ मिटर र पश्चिमतर्फ दुई सय मिटर जग्गाको लगत सङ्कलन गर्न लागेको थियो ।
हाल सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार २५५ मिटर छ । दैनिक हवाई उडान गराउन तीन सय मिटर थप गरेर एक हजार ५५५ मिटर लामो बनाउन सकिने कर्णाली प्रदेश सरकारले जनाएको छ । विमानस्थल धावनमार्ग विस्तारका लागि अहिले एक अर्ब रुपियाँ बजेट छुट्ट्याइएको छ ।
यसैबीच सुर्खेत विमानस्थलमा रात्रि उडान पनि गर्न सकिने प्रारम्भिक सर्भेले देखाएको छ । सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख उमेशकुमार पन्थीले प्रारम्भिक सर्भेअनुसार सुर्खेत विमानस्थलमा रात्रिकालीन उडान गर्न सकिने देखाएको बताउनुभयो । यद्यपि त्यसका लागि विस्तृत सर्भे गर्न आवश्यक रहेको छ । रात्रिकालीन उडानका लागि आवश्यक पर्ने बत्तीलगायत अन्य कामका लागि हालको धावनमार्गको दक्षिणतर्फ जग्गा आवश्यक पर्ने र लाइटिङका लागि अहिले चार सय मिटर जग्गाको लगत सङ्कलन गर्न थालिएको उहाँको भनाइ छ ।
रात्रिकालीन उडानलगायत फुल फेजका लागि ६४ बिघा जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । नेपालगन्जलगायतको तहमा पुग्नका लागि ६४ बिघा जग्गा आवश्यक पर्ने भए पनि अहिले घरेलु उडानका लागि उत्तरतर्फ छ सय मिटर र दक्षिणतर्फ चार मिटर थप गर्न सके पर्याप्त हुने कार्यालय प्रमुख पन्थीले बताउनुभयो । लगत सङ्कलन कार्य गर्न दिएमा १५ दिनभित्र सकेर यकिन तथ्याङ्क निकाल्न सकिन्छ तर जग्गा अधिग्रहणमा पर्ने प्रभावितहरूले आफूहरूको उठिबास हुने र दीर्घकालीन रूपमा विकास नहुने भन्दै धावनमार्ग विस्तारको काम गर्न नदिने अडान राखेका छन् । उनीहरूले विगतमा तीन पटकसम्म विस्तार गरिसकेको र दिगो विकास नभएको भन्दै अब पनि दिगो नहुने हुँदा अन्यत्र विकल्प खोज्न माग गरेका छन् । गोरखापत्रअनलाइनबाट