
८ साउन, भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्रमा युवती कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई मुद्दा दायर गरेको छ ।
यस अघि मुद्दा दायर भएका ५ जनासहित थप एक जना गरी ६ जनालाई ६ दिनको म्याद थप गराई प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
जिल्ला अदालत रुपन्देहीबाट ६ दिनको म्याद थप गराएर ज्यान मार्ने उद्योगमा मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
अनलाइनखबरले समाचार प्रकाशित गरेपछि प्रहरीले कुटपिटमा संलग्न युवतीका बुवा इन्नर यादवलाई पक्राउ गरी उनी सहित ५ जना उपर ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ ।
घटनाको अनुसन्धानको क्रममा थप एक जना सम्मरीमाई गाउँपालिका ६ का १८ वषर्ीय भुल्लर यादव उपर पनि मुद्दा दायर गरिएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवंम प्रवक्ता बेल बहादुर पाण्डेले बताए ।
उनका अनुसार यो सँगै घटनामा ६ जना सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय युवतीका वुवा इन्नर यादव, १८ वर्षीय युवतीका दाजु दिनेश यादव, ५५ वर्षीय युवतीका माइलो बुवा लालमोहन अहिर यादव, स्थानीय २५ वर्षे पशुपति कोइरी, १८ वर्षे भुल्लर यादव, १८ वर्षे दयानन्द यादव उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।
उनले घटनामा संग्लन देखिएका ६ जना मध्ये एक जनालाई पक्राउ गरिएको अन्य ५ जना फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको बताए ।
यता कुटिएकी युवती मीना भन्ने मनिता यादव माइती नेपाल नामक संस्थाको संरक्षणमा रहेको डिएसपी पाण्डेले बताए ।
साभारः अनलाइनखबर
Prawash Kumar Shakya । ८ श्रावण २०७४, आईतवार ०८:४६ बजे