गुराँस गाउँपालिकाको केन्द्र रानिमत्ता तय


तस्विरःगुराँस खबर ।

माघ,१२ सुर्खेत । आज भएको गुराँस गाउँपालिकाको चौथो अधिवेशनले गुराँस गाउँपालिकको केन्द्रको टुङ्गो लगाएको छ ।

गाउँसभाले केन्द्रमा सहमती जुटाउन नसकेपछि निर्वाचन प्रक्रियाबाट केन्द्रको टुङ्गो लगाइएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । गाउँपालिका केन्द्र रानिमत्ता हुने कि रतिखोला हुने भन्ने बारेमा बिकल्पका नभएपछि निर्वाचन गरिएको थियो ।

यसै गरी गुराँस गाउँपालिकाको केन्द्रका लागी गाउँसभाका ४४ जना सदस्यहरु मध्ये ३३ जना सदस्यहरुले केन्द्रका रुपमा गाउँपालिका वडा नम्बर ५ रानिमत्ताको लागि मतदान गरेका थिए भने १० जनाले वडा नम्बर ४ रतिखोलाको लागि मतदान गरेको र बाँकी एकजनाको भोट रद्द भएको निर्वाचन अधिकृत ललित कुमार थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार गाउँपालिकाको केन्द्र रानिमत्ता हुनुपर्छ भन्ने पक्षमा दुइतिहाई भन्दा धेरै मत खसेकाले अब गुराँस गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ५ रानिमत्ता कायम भएको घोषणा गरिएको छ ।

यसअघि गाउँपालिकाको अस्थायी केन्द्रको रुपमा वडा नम्बर ४ घोडाबासमा राखिएको थियो । कुनै स्थानीय तहको नाम र केन्द्रका विषयमा विवाद आएमा ६ महिनाभित्र गाउँसभामा कायम सदस्य संख्याको बहुमतबाट टुङ्गो लागाउन सकिने व्यवस्था छ ।
यदी ६ महिनाभित्र पनि नाम र केन्द्रको टुङ्गो लाग्न नसके सम्बन्धीत स्थानीय तहको गाउँ तथा नगरसभामा कायम सदस्य संख्याको दुइतिहाई मत आवश्यक पर्दछ । सम्बन्धीत स्थानीय तहको मेयर अथवा अध्यक्षको भोट भने निर्णायक हुने व्यवस्था छ ।
लामो छलफलबाट गुराँस गाउँपालिकाको स्थायी केन्द्र काहाँ राख्ने भन्ने विषयमा टुङ्गो नलागेपछि अन्ततः निर्वाचन गराइएको हो ।

साभारः गुराँस खबर ।