स्थानीय पालिकाले रक्त परिक्षण शुल्क निशुल्क बनाउनु पर्छ: शाक्य, रक्तदाता समाज सुर्खेतको अध्यक्षमा सिंह चयन


१९ जेठ, सुर्खेत । नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको अध्यक्षमा अशोक कुमार सिंह चयन हुनुभएको छ ।

समाजको आज वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशन बाट सिंह अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

त्यस्तै समाजको अधिवेशनले उपाध्यक्षमा कृति गुभाजु शाक्य, सचिवमा पुनम विसी, कोषाध्यक्षमा विकास गिरी र सहसचिवमा सुरेश आचार्यलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै सदस्यहरुमा क्रमशः मालति विके, महेन्द्र थापा, ओमबहादुर बुढा, भोजप्रसाद आचार्य, सन्तोष योगी, प्रवेश शर्मा, सुरज क्षेत्री र दान बहादुर सिंह सर्वसम्मत चयन हुनुभएको छ भने सल्लाहकार समिति प्रवाश कुमार शाक्य, सुदर्शन श्रेष्ठ, लक्ष्मण कँडेल, सुशिल राज शर्मा, देपेन्द्र केसी र पूर्ण प्रसाद गैह्रे चयन हुनुभएको छ ।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष एवं कर्णालीका सर्वाधिक रक्तदाता प्रवाश कुमार शाक्यले अब नयाँ कार्यसमितिले प्रदेश राजधानीका स्थानीय पालिकाहरुलाई आफ्ना नागरिकलाई रगत चाहिँदा रक्त परिक्षणमा लाग्ने शुल्क निशुल्क गराउनलाई पहल गर्न अनुरोध गर्नुभयो ।

उहाँ भन्नुहुन्छ ‘यहाँ हामी विरामीलाई रगत चाहिएको समयमा रगत दान दिएका छौं तर विरामीले त्यो दानमा पाएको रगतको परिक्षण शुल्क तिर्दा रगत खरिद गरिएको आभाष भएको छ । त्यसैले यस तर्फ हामी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समय ज्ञापनपत्र बुझाएका थियौं तर त्यो अझै कार्यान्वयनमा नआएकोले स्थानीय पालिकाले आफ्ना नागरिकलाई परिक्षण निशुल्क गर्नकालागि पहल गर्नुपर्ने भएको छ । जस्का लागि नयाँ कार्यसमितिले पहल गर्न अनुरोध गर्दछु ।’

शाक्य भन्नुहुन्छ ‘नेपाल रेड्क्रस सोसाइटीले सञ्चालन गरिरहेको रक्तसञ्चार केन्द्रको स्तरबृद्धि गर्नुपर्ने पनि देखिएको छ । साथै कर्णाली प्रदेश अस्पतालले कम्पोनेन्ट सहितको रक्तसञ्चार केन्द्र सञ्चालन गरेर कर्णालीका नागरिकले थप राहत पाएकोमा अस्पताल सञ्चालक समितिलाई धन्यवाद टक्र्याउँदछु ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष सिंहले अब छिटै नै स्थानीय पालिका भित्रका नागरिकहरुलाई रगत परिक्षण शुल्क निशुल्क गर्नकालागि सुर्खेतका पालिकाहरुको ध्यानाकर्षण गर्ने बताउनुभयो ।