चर्को ब्याजको विरोधमा १ दिने बै‌ंक बहिष्कार गरिने



माघ २२, सुर्खेत । बैंकहरुले मनपरी ढंगले अचाक्ली ब्याज बढाएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले माघ २४ गते बैंक बहिष्कारसहित वीरेन्द्रनगरमा विरोध र्याली प्रदर्शन गर्ने भएको छ ।

सिण्डिकेट जसरी एकपक्षीय रुपमा बैंकहरुले निर्धारण गरेको चर्को ब्याजदरका कारण व्यापार व्यवसाय नै धराशायी हुने स्थितिमा पुगेको निष्कर्षसहित १ दिने बैंक वहिष्कारसहित विरोध प्रदर्शनको घोषणा गरिएको हो ।

संघको आज (सोमबार) बसेको कार्य समितिको छैंठौं बैठकले, २४ गते एक दिनभर बैंक वहिष्कार गरी कुनै बैंकिंग कारोवार नगरी विरोध र्यालीमा सहभागी हुन आम व्यापारी व्यवसायीहरुलाई आग्रह गर्ने निर्णाय गरेको हो ।

चर्को ब्याजदरको विरोधमा संघका पदाधिकारीमध्ये कसैले पनि उक्त दिन बैंकिंग कारोवार नगर्ने सामूहिक घोषणा समेत गरेको महासचिव लक्ष्मण कंडेलले जानकारी दिनुभयो । सोहि दिन दिउँसो १ बजे मंगलगढी चौकबाट विरोध र्याली गरी बजार परिक्रमापछि वीरेन्द्रचौकमा कोणसभा गर्ने र बैंकहरुलाई विरोधपत्र बुझाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

विरोध र्यालीको तयारीका लागि संघका उद्योग उपाध्यक्ष गणेशकुमार वस्नेतको संयोजकत्वमा सचिव रामप्रसाद पाण्डे, राजु पाण्डे र प्रेमप्रसाद पाण्डे रहेको समिति पनि गठन गरिएको छ ।

९ प्रतिशतमा लिएको बैंक कर्जाको ब्याज एकाएक १३ प्रतिशतसम्म पुर्याउँदा व्यापार चौपट र व्यापारी पलायन हुनुपर्ने अवस्था आउन लागेको संघका अध्यक्ष धनबहादुर रावतले गुनासो गर्नुभएको छ । बैंकहरुले उत्पादनमूलक उद्योगका लागि प्रवाह गर्ने ऋणमा ७ प्रतिशत र व्यवसायिक क्षेत्रमा ९ प्रतिशतमा नबढाई ब्याजदर कायम नगरे निजी क्षेत्र नै धराशायी हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

बैंकहरुको सिण्डिकेट र मनोमानीका कारण वाणिज्य बैंकहरुले अहिले औषतमा १२ देखि १४ प्रतिशतसम्म ब्याज असुल्ने गरिएको बताउँदै अध्यक्ष रावतले यसमा तुरुन्त कडाई गर्नुपर्नेमा जोड दिनुभयो ।