सामुदायिक बनबाट भएको आम्दानी सामाजिक विकासमा


सुर्खेत, २१ साउन । समाज विकासको काम अहिले स्थानीय तहलगायतले गर्ने हो तर सुर्खेतमा भने एउटा सामुदायिक वन समूहले आफ्नो समाजको विकासको सवै काम गरिदिएको छ ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नं–५ बड्डीचौरको स्थीत रुइनियाडाँडा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो गाउँको धेरैजसो विकास गरेको हो । सामुदायिक बनले गाउँमा उज्यालोका लागि सोलार, पीउने पानी निर्माण, विद्यालयलाई सहयोग, आय–आर्जनका लागि सिलाइ कटाई लगायतका विकासे तालिमहरु उक्त वन समूहले गर्दै आएको छ । बड्डीचौर बजारलगायत गाउँमा करिव २३ लाखको लागतमा २० वटा सोलार पोल जडान गरिएको छ । सो सोलारले अहिले बजार र गाउँको सडक झिलिमिली भएको छ । खानेपानीको दुःख भएपछि पाँच लाखको लागतमा खानेपानी आयोजना बनाउँदैछ । दुई वटा विद्यालयलाई सात लाख सहयोग गरेको छ । आप्mना महिला उपभोक्ताहरुलाई आय–आर्जनका लागि सिलाइकटाइ तालिम दिएको छ । दुई लाखको घुम्ती कोष स्थापना गरेर आय–आर्जनमा सघाइरहेको छ भने स्थानीयहरुलाई रोजगारी पनि दिएको छ ।
त्यतिमात्र नभएर २५ लाखको लागतमा आफ्नै भवन पनि निर्माण गरेको छ । वनको आम्दानी सामाजिक विकासमा लगाउँदा वन समूह नै विकासकर्ता बनेको छ ।

सो वन समूहले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेपछि वन संरक्षणसंग पुराना काठहरु कटान गरेर आम्दानी गर्न सफल भएको छ । यस बर्ष सो वन समूहले सवा एक करोड बढी आम्दानी गर्न सफल भएको थियो । ११ हजार क्युफिट काठ विक्री गरेको थियो । वन समूहका अध्यक्ष कविराज डम्मरपाल मगरले वन संरक्षणको साथै पुराना र बुढा रुखहरु काटी विक्री गरेर भएको आम्दानीबाट गाउँ समाजको विकास गरिएको बताउँछन् । दुई बर्ष अघि सो वन समूहले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेको हो ।

कूल २३८ हेक्टर क्षेत्रफल भएको सो वनलाई आठ व्लकमा बाँडेर २७।८५ हेक्टरको दरले बैज्ञानिक बन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ । एउटा व्लकमा १० बर्षको दरले ८० बर्षमा सवै हेक्टरमा सो कार्यक्रम लागू भइसक्नेछ । बैज्ञानिक बन व्यवस्थापनबाट पुराना र बुढा रुखहरु काटेर विक्री गरी आम्दानी गर्न सकिने र त्यसबाट नयाँ विरुवा जागेर चाहेजस्तो बनाउन सकिने फाइदा भएको अध्यक्ष डम्मरपालले बताए । उनले कार्ययोजनाको परिधिभित्र रहेर वनको आम्दानी समाजको विकासमा लगाउने गरेको जनाए ।
साभारः खबर ईरा ।