
सुर्खेत, २२ माघ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईनसेक)को कर्णाली प्रदेश कार्यालयले मानव अधिकार उल्लंघनका पिडितलाई नगद सहयोग गरेको छ ।
आज (मंगलबार) कार्यालयले सुर्खेतको गुर्भाकोट–४ सहारेकी अनिता कामीलाई सहयोगस्वरुप १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । अनिताका बुवा मन कामीको ७४ बर्षका उमेरमा कारागारभित्रै मृत्यु भएको थियो । बलात्कार अभियोगमा ३ वर्षअघि कारागार चलान भएका मन कामीको पुस २१ गते केन्द्रीय कारागार काठमाडौंमा मृत्यु भएको थियो ।
‘मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लंघनका पीडितलाई सहयोग कार्यक्रम’अन्तर्गत मृतककी छोरी अनितालाई सहयोग प्रदान गरिएको ईन्सेक कर्णाली प्रदेशका फोकल पर्सन दुर्गा थापाले जानकारी दिनुभयो ।
गरिबीका कारण लास ल्याउन नसकिने अवस्था भएपछि मृतक मन कामीको दाहसंस्कार समेत ईन्सेक कर्णाली प्रदेश कार्यालयकै पहलमा काठमाडौंस्थित पशुपतिमा गरिएको थापाले बताउनुभयो ।



Prawash Kumar Shakya । २२ माघ २०७५, मंगलवार २१:१० बजे