भेरी अस्पतालमा मेसिन जडान भयो तर काम शुरु भएन


३ बैशाख, नेपालगन्ज । प्रस्तावित लुम्बिनी प्रदेशसहित पश्चिम नेपालकै ठूलो भेरी अस्पतालमा जडान गरिएको कोरोना परीक्षण मेशिन बेकामे बनेको छ । प्रदेश सरकारको लापरवाही तथा भेरी अस्पतालको उदासिनताका कारण उक्त मेशिन बेकामे बनेको हो ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुर्दशन बरालले उक्त मेशिन जडानसँगै कोरोना परीक्षण हुने यसअघि दाबी गरेपनि उहाँकै अधुरो कामले भेरीमा रहेको मेशिन बेकामे बनेको देखिएको छ । करीब ४ दिनअघि भेरी अस्पतालमा कोरोना भाइरस जाँच गर्ने मेसिन जडान भएको थियो । बाँके र बर्दियालाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा उक्त मेशिन भेरीमा जडान गरिएको अस्पतालका मेसु प्रकाश थापा बताउनुहुन्छ ।

उहाँकाअनुसार अस्पतालमा मेशिन जडान भएपनि सञ्चालनका लागि आवश्यक सामग्रीको अभावमा समस्या भइरहेको छ । जडान गरिएको मेशिन प्रयोगमा नआउँदा दैनिक दर्जनौं नागरिक कोरोना परीक्षणबाट बञ्चित हुँदै आएका छन् । उक्त मेशिनमा प्रयोग हुने रिएजेन्ट र भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) नभएकै कारण मेसिन प्रयोगबिहीन भएको मेसु डाक्टर थापाले जानकारी दिनुभयो ।

मेशिनसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस जाँच गर्न प्रयोग हुने रिएजेन्ट पनि पठाउनुपर्ने हो, ‘तर मेसिन आएको यतिदिन सम्म पनि मन्त्रालयले रिएजेन्ट पठाउने कुनै पहल गरेको छैन् ।’ स्वाब संकलन र जाँचका लागि प्राविधिकलाई तयारी अवस्थामा राखे पनि आवश्यक किट र सामग्री नहुँदा मेसिन सञ्चालनमा आउन नसकेको डा. थापाले बताउनुभयो । भेरी अस्पतालमा जडान भएको मेशिन प्रयोगमा नआउँदा संकलन भएका स्वाब सुर्खेत, बुटवल र काठमाडौँ पठाउने गरेको जानकारी दिनुभयो साथै रिएजेन्ट अस्पतालले किन्न सक्ने अवस्था नभएको र बजारमा नपाइने भएकोले पनि मन्त्रालयको मुख ताक्नुको विकल्प नभएको उहाँको भनाई छ ।

कोरोना भाइरस जाँच गर्ने मान्यतासमेत अहिलेसम्म नदिएको उहाँको अर्को गुनासो छ । मन्त्रालयले मान्यता नदिएकाले जाँच गर्ने काम अघि नबढ्ने डा. थापाले बताउँनुहुन्छ।

लाखौं मुल्य परेको उक्त मेशिन बेकामे भएपछि अस्पतालले नेपालगन्जको एक स्थानीय मेडिकलमा रहेको मेशिन लगेर कोरोना परीक्षणको तयारी गर्ने योजना अघि बढाएको खुलेको छ ।

मन्त्री बरालको सक्रियतामा जडान गरिएको भनिएको भेरीको उक्त मेशिन मन्त्री बरालकै उदासिनता, ढिलासुस्ती र गैरजिम्मेवारीपनले अलपत्र परिरहेको यथार्थ हो ।