
मंसिर १०, २०७४-तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मस्थानबारे गत महिना दिएको अभिव्यक्ति प्रति आइतबार स्पष्टिकरण दिएका छन् । निर्वासनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइट मार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका हुन् ।
एक महिनाअघि भारतको मेरठमा भएको कार्यक्रममा बुद्ध नेपाल, भारत, तिब्बत वा चीन कुनै पनि देशको नभएको बताएका थिए । उक्त अभिव्यक्ति प्रति विरोध भएपछि उनले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
गत महिना मेरठमा भएको अन्तरक्रियाका क्रममा दिएको जवाफप्रति असमझदारी पैदा भएकामा ध्यानाकर्षण भएको छ,’ लामाको भनाइ उद्धृत गर्दै उक्त अनलाइनमा उल्लेख छ, ‘संसारभरका बौद्ध धर्मावलम्बीजस्तै म निसंकोच बुद्ध लुम्बिनीमा जन्मेको स्वीकार गर्छु ।’
लामाले ज्ञानमार्फत बुद्धले समग्र एसियामा पारेको प्रभाव बुझ्नु अपरिहार्य भएको प्रसंग उठाउँदै उनी कुनै पनि देशमा मात्र सीमित नभएको धारणा राखेको दाबी गरेका छन् । अनलाइनमा उल्लेख छ, ‘यो सर्वव्यापी स्वीकार्य छ कि बुद्धले भारतमा ज्ञान प्राप्त गरेका मात्र हुन् ।’ उनले आफ्नो स्पष्टोक्तिले हालैका समय बुद्धको जन्मस्थानबारे भएको असमझदारी तथा भ्रम निवारण हुने आशा व्यक्त गरेका छन् ।
गत अक्टोबर १६ मा भारतको मेरठमा विद्यार्थीहरूसँग भएको अन्तक्र्रियाका क्रममा लामाले दिएको अभिव्यक्तिबारे एक सातादेखि सामाजिक सञ्जाल तथा नेपाली सञ्चार माध्यममा व्यापक विरोध भएको थियो ।
संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले यसअघि नै बुद्धको जन्मस्थान नेपालको लुम्बिनी भएको भन्दै उक्त स्थानलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिसकेको छ ।
१४ औं दलाई लामा तेन्जिन ग्यात्सो सन् १९५९ यता भारतको धर्मशालामा निर्वासित जीवन बिताउँदै आएका छन् ।
साभार : इ कान्तिपुर



Milan Shrestha । १० मंसिर २०७४, आईतवार १५:५७ बजे