
फागुन ४, जुम्ला ।
एथलेटिक्सका अन्तराष्ट्रिय धावक हरीबहादुर रोकायाको पहलमा जुम्लामा कुटानी पीसानी मिल स्थापना गरिएको छ । पछिल्लो समयमा जुम्लामा खेलाडीहरुको ब्यवस्थापनमा कठिनाई उत्पन्न हुन थालेपछि गीनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रोकायाको पहलमा खेलाडीको खर्च ब्यवस्थापन गर्न कुटानी पीसानी मिलको स्थापना गरिएको हो ।
कर्णाली खेलकुद क्लब जुम्ला मार्फत मिल निर्माणमको काम सकिएको छ भने धावक रोकायाले मिलमा कुटानी, पिसानी गरे बापत्त संकलन हुने रकमले खेलाडीको पोषणा आहारा जुटाउने बताउनु भएको छ । जिन्दगी नै खेल क्षेत्रमा समर्पण गरेका धावक रोकायाले खेलाडीले देश शिर उचो बनाएको स्मरण गर्दै खेलाडीलाई हेयका दृष्टिले हेरीने परम्परा कायमै रहेकोमा चिन्ता ब्यक्त गर्दै खेलाडीहरुका केही समस्याहरु यो मिल बाटै समाधान हुने आशा गरेको उहाँको भनाई छ ।
चन्दननाथ नगरपालिका वडा नं. ५ रानीपोखरी नजिकै कुटानी पिसानी मिल निर्माण गरि संचालनमा ल्याइएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।
मिल संचालनको लागि साढे ४ किलोवाटको सोलार जडान गरिएको छ भने मिलबाट संकलन भएको रकमले खेलाडीको पौष्टिक आहारा र खेल क्षेत्रको विकासमा खर्च गर्ने लक्ष रहेको अध्यक्ष शाहीको भनाई छ ।
मिल स्थापनाको लागि धावक रोकायाले झण्डै एक हजार वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनु भएको छ । कर्णाली खेलकुद क्लबको ७ लाख रुपैया र ग्रीड इन्टरनेश्नल काठमाण्डौको १४ लाख अनुदान, हरिवहादुर फाउण्डेशन कोषबाट १ लाख, ५० हजार र चन्दननाथ नगरपालिका वडा नम्वर ५ बाट १ लाख, ५० हजार गरि २२ लाख रुपैयाको लागतमा मिल स्थापना गरिएको कर्णाली खेलकुद क्लब जुम्लाले जानकारी दिएको छ ।



Milan Shrestha । ४ फाल्गुन २०७५, शनिबार १६:३८ बजे